काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन्।
१५औं गणतन्त्र दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि जनताको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन नसकेको बताएका छन्।
अर्कोतर्फ यही व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृत्ति, निरंकुश तरिका र अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दु:खद पक्ष रहेको बताएका छन्।
‘गत वर्ष सार्वभौम जनताको प्रतिनिधित्व हुने प्रतिनिधि सभालाई पटक-पटक विघटन गरी मुलुकलाई पुन: राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएका थिए’, नेपालले भनेका छन्।
अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आह्वान समेत गरेका छन्।
उनले जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया