काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई आजदेखि काठमाडौंमा प्रशिक्षण दिंदैछ ।
स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।
कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन् ।
पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ ।
बुधबार र बिहीबार राजधानीमा प्रशिक्षण आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् ।
प्रत्येक चार महिनामा प्रगति विवरण पार्टीमा पेश गर्नुपर्ने
माओवादीले यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो । यसपटक विगतभन्दा परिमार्जित ढङ्गबाट प्रशिक्षणको आयोजना गरिएको माओवादीले जनाएको छ ।
माओवादी पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले हरेक स्थानीय तहमा उत्कृष्टता हासिल गरेर जनताको सेवकका रूपमा काम गर्न सकून् भन्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव ढकालले जानकारी दिए ।
‘माओवादीबाट निर्वाचित जनप्रतिनिधिले अनियमिता गर्न पाइएन, बेरुजु हुन भएन, सुशासन कायम गर्नुपर्यो, शिक्षा, स्वास्थ्य, रोजगार, उत्पादन र बजारीकरणमा उत्कृष्टता हासिल गर्नुपर्यो’ उनले भने, “समाजवादको आधार तयार गर्नमा माओवादीका निर्वाचित प्रतिनिधि देशभर दोस्रो हुनुहुँदैन भन्ने प्रशिक्षणको मुख्य उद्देश्य हो ।’
जनप्रतिनिधिले प्रत्येक चार/चार महिनामा प्रगति समीक्षासहितको प्रतिवेदन पार्टीमा पेश गर्नुपर्ने छ । ‘लक्ष्य के थिए, उपलब्धि कति भए, निर्धारित उपलब्धि प्राप्त गर्न नसक्नुका कारण के हुन्, चुनौतीको समाधान गर्ने सुझाव के हुन् भन्ने विषयसहितको प्रतिवेदन पार्टीमा बुझाउनुपर्छ’, मुख्यसचिव ढकालले भने ।
प्रतिक्रिया