+
Search

ताजा अपडेट +

पपुलर +

छोरा प्रकाशको शालिक अनावरण गरेपछि माओको प्रसंग जोडेर प्रचण्डलाई लेखनाथकाे व्यंग्य

4KNationalDaily
२०७९ असार १८, शनिबार १०:०४ बजे

काठमाडौँ- सत्तारूढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरा प्रकाश दाहालको शालिक अनावरण गरेको विषयमा माओत्सेतुङको प्रसंग जोडेर व्यंग्य गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका यहि असार १७ गते नुवाकोटको ककनीमा आफ्ना छोरा साकार दाहालको शालिक अनावरण गरेका थिए। तर प्रचण्डले छोरा प्रकाशको शालिक आफ्नो आग्रहमा बनाइएको होइन भनेर स्पष्टीकरण दिइसकेका छन्।

सोही विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य न्यौपानेले विषय नखुलाई घुमाउरो तरिकाले कटाक्ष गरेका हुन्।

न्यौपानेका अनुसार ५ लाख चिनियाँ स्वयंसेवक कोरियाली जनतालाई सघाउन कोरिया गएका थिए, तीमध्ये एक थिए– माओका जेठा छोरा माओ आनइङ। कोरिया युद्ध (१९५०–१९५३) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए, तीमध्ये आनइङ पनि १९५० नोभेम्बर २५ मा मारिए। छोरो सहिद भएको खबर माओले बुहारीलाई सुनाए, त्यसबेला उनको काखमा सानो बच्चा (माओको नाति) थियो।

माओको बुहारीले ‘अब जिउँदो पति देख्न नपाए पनि शवको अनुहार अन्तिमपटक हेर्ने इच्छा छ’ भनिन्।

‘त्यसपछि माओेले बुहारीलाई भने– तिम्रो पति मात्र होइन, अरू ३० हजार चिनियाँ योद्धाहरू कोरियामा मारिएका छन्। ती सबैको शव चीन ल्याउनुपर्छ, जुन सम्भव नै छैन’, न्यौपानेले माओवादी भनाइ जोड्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसकारण हाम्रो छारोको मात्र शव ल्याउन मिल्दैन। हाम्रो छोराको मात्र शव ल्याउने र अरूको नल्याउने हो भने जसजसका परिवारबाट कोरियामा सहिद भए उहाँहरूले हाम्रो पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन्।’

त्यसपछि पति वियोगमा परेकी माओकी बुहारीले माओको कुरामा चित्त बुझाएको न्यौपानेले उल्लेख गरेका छन्।

‘यसकारण माओ, माओ बने। आजसम्म त्यसरी नै बाँचिरहेका छन्। आज पनि उनलाई सम्पूर्ण चिनियाँहरूले हृदय (चाकरी गर्न होइन) देखि सम्मान गर्छन्’, न्यौपानेले लेखेका छन्, ‘दैनिक ६५ हजार चिनियाँ युवाहरू माओको शाओशान गाउँको घर (संग्रहालयं) अवलोकन गर्छन् र हाम्रो महान् नेता भनेर गर्वले छाती चौडा बनाउँछन्।’

स्टाटसका साथमा न्यौपानेले माओका बाउ-छोराको तस्बिरसमेत सेयर गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily