गाेरखा- गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले हटाएकाे निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम फेरि समेटिने भएकाे छ ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निर्देशन अवज्ञा गर्दै अर्थमन्त्री बरालले हटाएको भनिएको कार्यक्रम समेटेर सोमबारदेखि संसदमा असार १ गते पेश भएको बजेटमाथि छलफल हुने भएको हो ।
शुक्रबार राति २ बजेसम्म बैठक बसेर मुख्यमन्त्री नेपाली र अर्थमन्त्री बरालले सोमबारदेखि प्रदेशसभा बैठकमा बजेट छलफल गर्ने समझदारी गरेका थिए ।
त्यसका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा थप्ने र मन्त्रालयको सिलिङभित्रको योजना नै काटिएको विषयमा क्रस चेक गर्ने, थपघट गर्नुपरे अर्थ विविध शीर्षकबाट गर्ने र संसदमा छलफल पनि चलाउने सहमति भएको हाे ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत सत्तारुढ दलका नेताहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै नाम राख्नुपर्ने अडान राखेका छन् ।
प्रत्येक निर्वाचन क्षेत्रका सांसदले दामासाहीले बाँड्न पाउने गरी २/२ करोड रुपैयाँका दरले ३६ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा ७२ करोड रुपैयाँ विनियोजन हुँदै आएको थियो ।
अर्थमन्त्री बरालले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेश गरेका थिए ।
प्रतिक्रिया