काठमाडौं– विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई ५ विकेटले हराएको छ।
शानदार बलिङ प्रदर्शन गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो। एक सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो।
नेपालको जितमा आरिफ शेखले अर्धसतकीय पाली खेल्दै ७१ रन बनाए। कुशल भुर्तेलले २७ र रोहित पौडेलले अविजित रहँदै ३४ रन जोडे।
नेपालले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेको थियो। त्यसपछि दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्यो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले चौथो अर्धसतक बनाएका हुन्।
आसिफले ६३ बलमा एक छक्का र १० चौका प्रहार गरे। देव खनाल ४ , दिपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख एक रन जोडेर आउट भए।
त्यसअघि टस जितेर पहिला बलिङ रोजेको नेपालले स्कटल्यान्डलाई ४२ ओभर ५ बलमा एक सय ४४ रनमा अलआउट गरेको हो।
स्कटल्यान्डलाई सस्तोमा समेट्न आदिल आलम र सोमपाल कामीले तीन तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र करन केसीले एक एक विकेट हात पारे।
४ रन जोड्दा पहिलो विकेट गुमाएको स्कटल्यान्ड त्यसपछि ३३-५ को कमजोर अवस्थामा पुगेको थियो। स्कटल्यान्डले सातौँ विकेटका लागि १९ , आठौँ विकेटका लागि १४ , नवौँ विकेटका लागि १६ र १० औँ विकेटका लागि ४९ रनको साझेदारी गरेको थियो।
घरेलु टोलीका तल्लोक्रमका गाभिन मैनले सर्वाधिक ६४ रन जोडे। उनी नवौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए। मध्यक्रमका मार्क वाटले सर्वाधिक १७ रन जोडे।
अनुभवी कायल कोएट्जर ४, विकेटकिपर मार्क क्रस २, कप्तान रिची बेरिङ्टन ३ र जर्ज मुन्सी ४ रन जोडेर आउट भए। स्कटल्यान्डको शीर्ष ६ ब्याट्सम्यानमध्ये क्यालम म्याकलियोडले मात्र १३ रनसहित दोहोरो अंकमा रन जोड्न सके।
सोमपालले १० ओभरमा ४० र आदिलले १० ओभरमा ३१ रन खर्चिएका थिए। सन्दीपले १० ओभरमा ३५ रन दिए। स्कटल्यान्डका शीर्ष ४ मध्ये तीन ब्याट्सम्यानलाई सोमपालले आउट गरेका थिए।
जितसँगै नेपाल १८ खेलबाट १७ अंक जोडेर तालिकाको पाचौँ स्थानमा उक्लिएको छ। स्कटल्यान्ड २२ खेलबाट ३० अंक जोडेर दोस्रोमा छ।
नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको हार ब्यहोरेको थियो भने स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा स्कटल्यान्डलाई पहिलोपटक हराएको हो ।
नेपालले अब तेस्रो खेलमा शनिबार नामिबियासँग खेल्ने छ। शृंखलाको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग आइतबार प्रतिस्पर्धा गर्ने छ।
प्रतिक्रिया