+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रियताकाे सवालमा गठबन्धनकाे सरकारले अपराध गर्दैछ- उपाध्यक्ष शाक्य

4KNationalDaily
२०७९ श्रावण १६, सोमबार ०६:५१ बजे

गाेरखा– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धनकाे सरकारले राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र राष्ट्रियताकाे सवालमा गलत कदमहरु चालेको बताएकी छिन् ।

जिल्ला कमिटि गोरखाले आइतवार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारले राष्ट्र र राष्ट्रियताका सवालमा अपराध गरेको बताएकी हुन् ।

वर्तमान राजनीतिक शक्ति सन्तुलन र पार्टीको भूमिका अभिवृद्धि विषयमा कार्यकर्तालाई प्रशिक्षण गर्दै उनले देशको आन्तरिक राष्ट्रियतामाथि पनि गठवन्धन सरकारले खेलवाड गरेको दावी गरिन् ।

केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक सहितका भूभाग समेटेर नक्सा सार्वजनिक गरेको थियो’ उनले भनिन् ‘जमिन फिर्ता लिने प्रक्रिया चलिरहेको थियो, तर अहिले प्रधानमन्त्री कार्यालयले प्रकाशन गरेको पुस्तकमा पुरानै नक्सा छ ।’

गठवन्धन सरकारलाई हटाउनु पर्ने भन्दै उनले खराब पक्ष पर्दाफास हुँदै गएमा ढिलो चाँडो गठवन्धन आफैं भत्किने बताईन् । नेपालमा कम्युनिष्टहरुलाई स्थापित हुन नदिने चलखेल हुँदै आएको भन्दै उनले चिन्ता ब्यक्त गरिन् ।

कार्यक्रममा नेकपा एमालेकी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनताको बहुदलीय जनवादका मान्यताको आधारमा पार्टी निर्माण र परिचालन, पोलिटब्युरो सदस्य एवम् सांसद मनकुमारी केसीले स्थानीय तह निर्वाचनको सिकाई र आगामी निर्वाचनको तयारी, केन्द्रिय सदस्य रामशरण वस्नेतले संगठनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन एवम् गण्डकी प्रदेश कमिटि उपसचिव रश्मी अचार्यले जनप्रतिनिधि र पार्टी विचको सम्वन्धका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा जिल्ला, क्षेत्र, पालिकाका पार्टीका पदाधिकारीको सहभागीता रहेको थियो ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

नेकपा एमाले गोरखाले स्थानीय तहमा पार्टीबाट टिकट पाएर निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । जिल्ला कमिटिले आइतवार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

स्थानीय तह निर्वाचनमा गोरखामा एमालेका ५१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा १० जना वडाध्यक्ष र अन्य ४१ जना वडा सदस्य रहेको जिल्ला सचिव काजीराम रोकाले बताए । जनप्रतिनिधिहरुलाई सम्मान गर्दै नेकपा एमालेकी उपाध्यक्ष शाक्यले जनताको मत जितेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिईन् ।

‘यस्तो विषम अवस्थामा स्थानीय तह निर्वाचनमा गोरखामा प्राप्त उपलब्धी सन्तोषजनक छ, यसलाई बचाउने र बढाउने गरि गर्नुपर्नेछ’, उनले भनिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily