+
Search

ताजा अपडेट +

पपुलर +

मिलन चक्रे गोरखा-२ बाट उम्मेदवार सिफारिस, अरू काे काे परे !

4KNationalDaily
२०७९ भाद्र १९, आईतवार २१:११ बजे

गोरखा– नेकपा एमालेले गोरखा-२ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र २ को क्षेत्रीय समितिको आइतबार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।

चक्रे विगतमा विवादास्पद गतिविधिहरूमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाएका उनलाई एमालेले सिफारिस गरेको हो ।

युवा पुस्तामा गुरुङको ‘क्रेज’ बढी छ । गुरुङ उम्मेदवार भएर आएको खण्डमा अन्य दलका युवाहरूले पनि समर्थन गर्ने उनी बताउँछन् ।

‘मलाई खास राजनीतिमा धेरै चासो हैन । तर, हामी जस्ता युवाहरू राजनीतिमा आयो भने युवा पुस्ताका लागि केही गर्न सकिन्छ । मलाई गोरखाका एमालेका मात्रै हैन, सबै दलका युवा साथीहरूले तपाईँ राजनीतिमा आउनु पर्छ भनेर भनिरहेकाले म खुला राजनीतिमा आएको हुँ’, गुरुङ भन्छन् ।

आफूले युवा पुस्तालाई नेतृत्वमा ल्याउन प्रेरणा मिलोस् भन्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको उनी बताउँछन् । गुरुङ विगतमा विवादास्पद गतिविधिहरूमा संलग्न रहँदै आएको आरोप लाग्ने गरेको छ ।

उनी भन्छन्, ‘विगतमा के थियो ? भन्ने कुराको पछि लाग्ने हो भने त रत्नकार कसरी वाल्मीकि बने ? हाम्रा देशका अग्रज नेताहरूको विगत हेर्नुस्, के छ ? त्यसैले म यस विषयमा धेरै केही बोल्दिनन् । यति भन्छु, म युवा पुस्तालाई अघि बढाउँदै देशको विकासका लागि केही गर्न चाहन्छु । मलाई पक्कै पनि गोर्खालीहरूले साथ, सहयोग र माया दिनुहुन्छ ।’

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ गण्डकी प्रदेशका पूर्व मन्त्री रामशरण बस्नेत, आरसी लामिछाने, कृष्ण नेपालीको नाम उम्मेदवारमा सिफारिस गरेको छ। समानुपातिकतर्फ भने क्षेत्र नम्बर १ बाट विमला चेपाङको नाम सिफारिस गरेको एमाले गोरखाले जनाएको छ ।

क्षेत्र नम्बर १ को (क) बाट सुरेन्द्र थापा, विशाल थापा, गोपाल पाण्डे, देवेन्द्र श्रेष्ठ, नानीमाया थापाको नाम सिफारिस गरेको छ प्रदेश सभा (ख) मा मोहन भट्टराई, कृष्ण काप्री, आरसी लामिछाने, प्रमीला खड्का उम्मेदवार सिफारिस गरेको एमालेले जनाएको छ ।

चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन्। क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरुङ सिफारिस भएको छ। यस्तै प्रदेश सभा क्षेत्र (क) मा राजु राना, वसन्तकुमार श्रेष्ठ, गम्भीर बराकोटी सिफारिस भएका छन्।

प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र वसन्त गुरुङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ। क्षेत्रले उम्मेदवारको नाम जिल्लामा पठाएको र जिल्लाले सोमबार माथिल्लो निकायमा पठाउने एमाले गोरखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily