काठमाडौं- नेकपा एमाले निकटको मजदुर संगठन फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको अभियानको विरोधमा उत्रिएको छ ।
एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को घटक संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार काठमाडौं महानगरपालिका कार्यालय बाहिर प्रदर्शन गरेको छ ।
व्यापार गर्न खाली ठाउँ तोकिदिनुपर्ने र त्यो नभएसम्म विहान बेलुकाको फुटपाथमै व्यापार गर्न दिनुपर्ने माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले स्वरोजगार श्रमिक संघ जिफन्टको घटक संगठन रहेको र उनीहरुको आन्दोलनमा समर्थन रहेको बताए ।
उनले मेयर बालेन साहको फुटपाथ व्यापार हटाउने अभियानलाई सही भन्न नसकिने बताए । ‘हेर्दा मेयरको अभियान विरुद्ध देखिन्छ, उहाँको काम टोटल्ली रङ छ पनि भन्दैनौं, सही पनि होइन’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
उनले अघि भने ‘बेलुका ५ देखि ७ बजे खली ठाउँमा बस्दा मेयरलाई टाउको किन दुख्छ ?’ अध्यक्ष श्रेष्ठले दशैं, तिहारका बेला स्वरोजगार श्रमिक भोकै पर्ने अवस्था आएको बताए ।
उनले महानगरपालिकाले खाली ठाउँमा व्यवस्थित बजार बनाए स्वरोजगार श्रमिकले कर तिरेर व्यवसाय गर्ने बताए ।
महानगरपालिकाका मेयर बालेन साहलाई ज्ञापनपत्र बुझाउन गएका संघका पदाधिकारीले बालेनलाई भेट्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाए ।
ज्ञापनपत्र बुझाउन गएकी नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले मेयर बालेन साहले सडकमा रोइरहेको श्रमिकको आवाज नसुनेको बताइन् ।
‘यत्रो सडकमा रोइरहेका कराइरहेका जनताको आवाज सुन्नुभएन कसको आवाज सुन्नुहुन्छ ? अहिलेको अवस्थामा सडक पेटीमा फुटपाथमा व्यवसाय गर्ने स्वरोजगार श्रमिकलाई वैकल्पिक स्थान दिन नसके पनि निश्चित टाइम टोकेर गरिखाने वातावरण दिनुपर्यो’ उनले भनिन् ।
उनले अगाडि भनिन्, ‘हामीलाई थाहा छ सडक पेटीमा बस्नु हुँदैन, त्यहाँ व्यवसाय गर्ने ठाउँ होइन, हाम्रो भनाइ के हो भने २४ घण्टामा २ घण्टा त गरिखाने वातावरण दिनुस् ।’
स्वरोजगार श्रमिकको समस्या दीर्घकालीन रुपमा समाधान गर्न खाली ठाउँमा सस्तो बजार बनाउनुपर्ने वा सन्ध्याकालीन व्यापारको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।
त्यस्तै काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीबाट जफत गरेको सामान फिर्ता नदिई लिलाम गर्ने गरेको छ ।
संघले ती सामान सम्बन्धि व्यापारीर्ला फिर्ता गर्नुपर्ने, फुटपाथ व्यापारीको समस्या समाधानका लागि आफूहरुको समेत सहभागितामा नीति बनाउनुपर्ने माग पनि गरेको छ ।
‘राज्यले रोजगारी दिन सक्दैन, हजारौं नागरिकले काम देउ भनेका छैनन्’ उनले भनिन्, ‘ उनीहरुलाई सम्बन्धित निकायले व्यवस्थापन गर्नुपर्छ ।’
संघले महानगरका सबै वडामा नागरिक बजार वा सन्ध्याकालीन बजारको व्यवस्था गर्नुपर्ने, दर्शै तिहार र छठसम्म विहान बेलुका सडकमै व्यापार गर्न दिनुपर्ने लगायतका माग राखेका छन् ।
प्रतिक्रिया