+
Search

ताजा अपडेट +

पपुलर +

सुकुम्बासी तत्काल हटाउने निर्णयबाट पछि हटे बालेन

4KNationalDaily
२०७९ मंसिर १४, बुधबार १६:२२ बजे

काठमाडौं– काठमाडौं महानगरपालिका सुकुम्बासी समस्याबारे सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने भएको छ । महानगर मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

महानगरका प्रवक्ता नवीन मानन्धरले सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए । “आज बिहान सबै वडाध्यक्षहरूसँग बैठक बस्यो । अब सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्ने निर्णय भएको छ,” प्रवक्ता मानन्धरले भने ।

महानगरविरुद्ध उपत्यकाका सुकुम्बासीको आन्दोलन जारी छ । उनीहरूले बिनाविकल्प आफूहरूलाई महानगरले उठिबास लगाएको भन्दै डोजर चलाउन पुगेको टोलीमाथि ढुंगामुडा गरेका थिए । सुकुम्बासीको प्रतिरोधमा महानगरका ३६ जना नगरप्रहरी घाइते भएका थिए ।

सुकुम्बासीले नगरप्रहरीमाथि नाङ्गो हातहतियारसहित प्रतिकारमा उत्रदा बस्ती तनावग्रस्त बनेको थियो । सो घटनापछि महानगरले प्रहरी परिसर टेकुमा दोषीलाई कारबाही गर्न उजुरी दिएको थियो ।

अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिको अनुरोध र सहकार्यमा महानगरले डोजर चलाउने प्रयास गरेको थियो । महानगरको डोजर आतंकविरुद्ध बृहत् नागरिक आन्दोलन लगायत निकायले आपत्ति जनाएका थिए ।

महानगरको कदम सरकारी निकाय राष्ट्रिय भूमि आयोगसँग पनि बाझिएको थियो । आयोगले पनि महानगरको कदम गलत भएको भन्दै आपत्ति जनाएको थियो । महानगरले विभिन्न निकायसँग समन्वय गरेर कार्यविधि बनाएरै अघि बढ्ने जनाएको छ ।

सहरी विकास मन्त्रालय, उपत्यका विकास प्राधिकरण, राष्ट्रिय भूमि आयोग, काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता, सम्बिन्धित वडा कार्यालय, सुकुम्बासी मोर्चा, सुकुम्बासी बासिन्दा लगायत निकायसँग सहकार्य हुने महानगरले जनाएको छ ।

वाग्मती सभ्यताले अस्थायी रूपमा इचंगुनारायणमा सुकुम्बासीलाई स्थानान्तरण गर्ने बताएको थियो । वाग्मती सभ्यताका प्रवक्ता कमल अर्यालका अनुसार इचंगुनारायणको अपार्टमेन्टमा ३३० परिवारको क्षमता छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily