काठमाडौँ– अघिल्लो कार्यकाल नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा गएर त्यसैलाई ढाल्न निर्णायक भूमिका खेलेका राजीव गुरुङ (दीपक मनाङे) सोमबार एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
मनाङ प्रदेश ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद मनाङेलाई समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले पार्टीमा भित्र्याउन भूमिका खेलेका हुन्।
किसानको पहलमा गण्डकीका खेलकुद मन्त्रीसमेत रहिसकेका मनाङे समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा पुगे।
जहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकै उपस्थितिमा मनाङेलाई नेपालले पार्टीमा स्वागत गरे।
त्यसक्रममा मनाङेसँग स्वागत गरेको सामूहिक तस्बिर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो। मंसिर ४ को निर्वाचनमा मनाङ ‘ख’ बाट विजयी उनलाई नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले पनि उम्मेदवारी नदिएर साथ दिए।
तर समाजवादीले सबै प्रदेशमा थ्रेस होल्ड कटाइसकेको छ। यस्तोमा गण्डकीमा पनि समाजवादीले समानुपातिकबाट एक सांसद पाउने पक्का भएको छ। मनाङे पनि समाजवादीमा प्रवेश गरेपछि अब उसका दुई सांसद हुने छन्।
एकीकृत समाजवादीमा प्रवेश गरे दीपक मनाङे
यस्तोमा अब संघसँगै प्रदेशमा पनि सत्ता गठबन्धन कायम रहने हो भने मनाङे गण्डकीमा समाजवादी संसदीय दलको नेता नबने पनि मन्त्री हुन सक्नेछन्।
यहाँ समाजवादीले पाउने एक समानुपातिक कोटाका सांसद दलको नेता बन्न सक्ने छन्। यदि समानुपातिक सांसद दलको नेता नबनेमा मनाङेलाई त्यो अवसर मिल्नेछ। अर्थात्, उनले मन्त्री नहुँदा पनि दलको नेता बनेर सरकारी ‘सुविधा’ लिने छन्।
अघिल्लो पटक मुख्यमन्त्री गुरुङलाई धोका दिएर सरकार ढाल्न भूमिका खेलेकाले एमाले उनीसँग रुस्ट छ।
अर्कातिर कांग्रेस र माओवादीमा प्रवेश गर्दा उनलाई ती दलले मन्त्री बनाउने सम्भावना थिए। त्यहीकारण उनी दलको नेता या मन्त्री हुने ग्यारेन्टी खोजेर समाजवादीमा प्रवेश गरेका हुन्।
स्रोतका अनुसार अध्यक्ष नेपालले उनलाई मन्त्री बनाउने आश्वासनसहित पार्टीमा भित्र्याएका हुन्। मनाङेलाई फकाउन भूमिका खेलेका कृष्णकुमारले पनि उनलाई मन्त्रीको आश्वासन दिएको स्रोतले जनाएको छ।
प्रतिक्रिया