काठमाडाैं– गोरखा र लमजुङको सीमा भई बगेको चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाले राइनासटार सिँचाई आयोजनालाई ध्वस्त बनाउन खोजेपछि लमजुङका सातै जना सांसद नै विरोधमा उत्रिन परेको छ।
हजारौँ कृषकका लागि घातक बनेको चम्पावती विद्युत् कम्पनीले बनाउन लागेको उक्त विद्युत् योजनाको विरोधमा प्रतिनिधिसभा सदस्य पृथ्वी सुब्बा गुरुङ, प्रतिनिधिसभा सदस्य उर्मिला माझी, राष्ट्रिय सभा सदस्य दिपा गुरुङ, गण्डकी प्रदेश सभाका सदस्यहरू डा. टकराज गुरुङ, भेषबहादुर पौडेल, पार्वती तामाङ, टिका बस्याल र यशोदा रिमालले एक वक्तव्य निकाले।
लमजुङ जिल्लाको गौरवका आयोजनाहरू मध्ये राइनासटार सिँचाई आयोजना पनि एक हो। यो आयोजना विगत ३५ वर्षदेखि निरन्तर सञ्चालनमा रही राइनास नगरपालिका वडा नम्बर १ देखि ७ सम्मका ३ हजार ५०० घर परिवारका १४ हजार जनताहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
सिँचाइ आयोजनाको मुहान देखि चुहान सम्म १७ कि.मी. दुरीमा रहेको यस आयोजना पूर्ण क्षमताका साथ सञ्चालन हुँदा १ हजार चार सय हेक्टर जमिन सिञ्चित हुने यस आयोजनाबाट हाल ८५० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ।
सांसदहरूले निकालेको वक्तव्यमा भनिएको छ, ‘यस बृहत् सिँचाइ आयोजनालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने वातावरण मिलाउनु, कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्नु , कृषिमा आधुनिकीकरण गर्दै उद्यमशीलताको विकास गर्दै राष्ट्रिय पुँजीको विकासमा टेवा पुर्याउनेका लागि नयाँ प्रविधिको प्रयोगमा कृषकहरूलाई आकर्षित गर्नु र जिल्लाको समग्र विकासमा कृषि क्षेत्रको योगदानलाई सबलीकरण गर्नु आजको दायित्व हो। यस कार्यलाई नेपाल सरकार लगायत सम्बन्धित सबै पक्षले ध्यान दिनु आवश्यक देखिन्छ।’
चेपे ए (चम्पावती हाइड्रोपावर) ले वर्तमान समयमा स्थानीय लगायत हामी सबैको मुख्य चासोको विषय नै, प्रारम्भिक सम्झौता अनुसार राइनासटार सिँचाइ आयोजनाको मुहान भन्दा २०० मिटर माथि पानीको निकास गराउने र उक्त पानी प्राकृतिक एवं स्वाभाविक रूपमा बहने गरी विद्युत् उत्पादन गृह निर्माण गर्ने भनिएता पनि अहिले आएर उक्त चम्पावती हाइड्रोपावरले राइनासटार सिँचाइ आयोजनाको मुहानबाट करिब २०० मिटर तल पानी झर्ने गरी विद्युत् गृह निर्माण गरिरहेको छ। यस कार्यले राईनासटार सिँचाइ आयोजनालाई अवरोध पुर्याउने प्रस्ट देखिन आएकोले स्थानीय कृषकहरूमा चिन्ता र आक्रोशले छाएको छ।
सांसदहरूले निकालेको वक्तव्यमा भनिएको छ, ‘हाइड्रो पावर बन्नुपर्छ, बनाउनका लागि हामी सबैले सहयोग गर्नुपर्छ राष्ट्रको अर्को मुख्य आम्दानीको स्रोत भनेको पनि हाइड्रो पावर हो यो कुरामा हामी सचेत छौँ। तर एउटा आयोजना सञ्चालन गर्दा अर्को आयोजना सञ्चालन गर्न बाधा पुर्याउने किसिमले काम गर्नु हुँदैन। तर चेपे ए (चम्पावती हाइड्रोपावर) ले जल उपभोगको अग्राधिकारलाई बेवास्ता गरी राईनासटार सिँचाई आयोजनालाई वाधा पुर्याउने स्पष्ट देखिएको हुँदा सो बाधा नपुर्याओस् भन्नका लागि स्थानीय कृषक तथा उपभोक्ताहरूले बारम्बार सचेत गराउँदा गराउँदै, ध्यानाकर्षण गराउँदा गराउँदै तथा सम्बन्धित निकायहरूमा प्रतिनिधि मण्डल मार्फत जानकारी गराउँदा गराउँदै पनि चम्पावती हाइड्रो पावरले स्थानीय आवाजहरूलाई बेवास्ता गरेर जुन कार्यशैलीमा आयोजना सञ्चालन गरिरहेको छ यसले हामी सबैलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ । तसर्थ स्थानीयवासी आयोजना प्रतिको अपनत्व ग्रहण गराउने तर्फ सञ्चालकहरू लगायत सम्बन्धित सबै निकायको ध्यान पुगोस्।’
सांसदहरूले निकालेको वक्तव्यमा भनिएको छ, ‘राईनासटार सिँचाइ आयोजनाबाट हाल सम्म लाभान्वित कृषकहरूको पुस्तौँ देखिको माटोसँगको सम्बन्ध र गाढा माया यदि विद्रोहमा रूपान्तरण भयो भने त्यसले पार्ने दूरगामी प्रभाव अकल्पनीय हुनसक्छ। जसको जीवन माटोसँग जोडिएको छ, जसको जीवन सिँचाइसँग जोडिएको छ, त्यही कृषकको खेत बाँझो हुने तथा सिँचाइको आयोजना तहसनहस हुने किसिमको कुनै पनि आयोजना कृषकहरूलाई स्विकारे हुन सक्दैन। तसर्थ राइनासटार सिँचाइ आयोजनामा पानीको प्राकृतिक बहावमा अवरोध हुन नदिन एवं समयमै कृषकका जायज मागहरू सम्बोधन गर्न, आवश्यकता अनुसार आयोजनाको डिजाइन परिवर्तन गर्नु परेमा सो कार्यमा समेत तयार हुन, जनतालाई हतोत्साहित बनाउने दुराशयले केही उपभोक्ताहरूलाई मुद्दा लगाएको सुनिएको हुँदा यस्ता कुनै पनि कार्य नगर्न र शीघ्र वार्तामा बसी सुझबुझपूर्ण तरिकाले सहज वातावरण निर्माण गर्ने तर्फ नेपाल सरकार लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदछौँ। यदि वार्ता र संवादको बहानामा कृषकको माग सम्बोधन नभएमा हामी जनप्रतिनिधिहरू समेत कृषकको पक्षमा उभिनेछौँ ।’
यस अघि लमजुङ र गोरखाको सीमा क्षेत्र चेपे खोलामा निर्माणाधीन सात मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजनामा तोडफोड भएको थियो। लमजुङको बृहत् सिँचाइ आयोजना राइनासटार सिँचाइ आयोजनाको मुहान नै प्रभावित पर्ने गरी आयोजना निर्माण गरेको भन्दै प्रभावित स्थानीयले हाइड्रो तोडफोड गरेका हुन्।
जिल्लाकै सबैभन्दा ठुलो सिँचाइ आयोजना राइनासटार सिँचाइ आयोजना प्रभावित हुने गरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै त्यसको विरोधमा उत्रिएका हुन्। यसअघि पटक पटक आयोजनाको काम रोक्न दबाब दिएका आक्रोशित स्थानीय बासिन्दाले काम नरोकिएपछि मंसिरको अन्तिम साता आयोजनास्थलमा तोडफोड गरेका थिए।
त्यति बेला आक्रोशित बनेका स्थानीयले आयोजनाको दुई वटा ट्रक, दुई वटा मोटरसाइकल, दुई जेनरेटर र स्टोरमा आगलागी गरेका थिए भने आयोजनाको कार्यालय भवनमा तोडफोड गरिएको थियो।
०५२ सालमा सम्पन्न भई सञ्चालनमा आएको राइनासटार सिँचाइ योजनाको मुहान नै मासिने गरी जलविद्युत आयोजनाको विद्युत् गृह निर्माण भइरहेको उपभोक्ताहरूको आरोप छ। आयोजनाको विद्युत् गृह नहरको मुहानभन्दा करिब दुई सय मिटर तल हुने गरी निर्माण भइरहेको छ।
सोही ठाउँमा विद्युत् गृह बने राइनास नगरपालिकाको ८ सय ५० बढी हेक्टर जग्गामा सिँचाइको सुविधा पुगेको राइनासटार सिँचाइ योजनाको मुहान मासिने निश्चित देखिएपछि उपभोक्ता आक्रोशित भएका हुन्। प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाको ६० प्रतिशत काम पूरा भइसकेको आयोजना पक्षले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको थियो।
सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको काम सुरु भएको थियो। कम्पनीले आयोजनाको लागत एक अर्ब ३० करोड रहेको बताइएको छ। प्रति मेगावाट करिब १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत् उत्पादन गर्ने जनाइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रतिक्रिया