काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा विदा दिने निर्णय गररेको कसैले पनि हिनताबोध गर्न नपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताएका हुन्।
‘हिजोमात्रै सरकारले पृथ्वी जयन्तीलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ। म सरकारप्रति धन्यवाद र आभार व्यक्त गर्छु,’ लिङ्देनले सम्बोधनको क्रममा भने, ‘राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले हिनताबोध गर्न पर्दैन। उनी थिए र यो राष्ट्र छ। अघिल्लो कार्यकालमा पनि यही भनेको थिएँ, नेपाल राष्ट्र छ र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ। राष्ट्र निर्मातालाई सम्मान गर्न कुनै हिनताबोध राख्न हुँदैन।’
उनले अहिलेको प्रतिनिधिसभाको संरचना नै विशेष प्रकृतिको भएको उल्लेख गरे। ‘यसपालिको प्रतिनिधिसभाको संरचना नै विशेष प्रकृतिको छ। कुनै दलको बहुमत छैन र सबै दलहरु मिलेर जानुपर्ने छ। कुनैपनि विचार र दललाई निषेध गरिएको छैन,’ उनले भने, ‘जनादेशलाई आत्मसाथ गरेर राप्रपाले पुष्पकमल दाहाललाई प्रस्ताव गर्ने पत्रमा हस्ताक्षर गरिसकेको छ। आज प्रधानमन्त्रीबाट विगतबाट शिक्षा लिएर आगामी दिनमा सुशासन र राष्ट्रियताको सन्दर्भमा भएको प्रतिवद्धतामा राप्रपाको समर्थन छ।’
प्रतिक्रिया