काठमाडौं– नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दियो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् ।
एमालेबाट लामिछानेका बारेमा प्रस्ताव आउनुलाई प्रधानमन्त्रीले अन्यथा नलिए पनि यो विषय पूर्ण रुपमा टुंगिएपछि भने विचार गर्न सकिने उक्त स्रोतले बतायो ।
आजै एमाले महासचिव शंकर पोखरेलले लामिछानेमाथिको मुद्दा सामान्य र नियमित प्रकृतिको भएको भन्दै नेपालको राजनीतिक समीकरणमा फेरबदल ल्याउनका लागि यसलाई प्रयोग गर्न खोजिएको आरोप लगाए ।
अदालतको फैसलामाथि प्रश्न उठाउँदै पाेखरेलले पीआर र ग्रीनकार्ड त्यागेर नेपाल आउने नागरिकलाई फेरि नागरिकता लिने अर्को व्यवस्था नभएको दाबी गर्दै उनले रविको बचाउ गरे । रविले भने ग्रीनकार्डमात्र नभई अमेरिकी नागरिकता नै लिएको यसअघि नै सकारिसकेका छन् ।
‘यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन’ महासचिव पोखरेलले भने, ‘किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन ।’
दुई दिनअघि सरकार र पार्टी दुवैतिर पद गुमाएका लामिछानेले आजै काठमाडौं प्रशासनबाट नागरिकता पुनःप्राप्ति गरेका छन् । तर उनको राहदानी सम्बन्धी महत्वपूर्ण मुद्दाबारे प्रश्नहरु बाँकी नै छन् ।
प्रतिक्रिया