+
Search

ताजा अपडेट +

पपुलर +

गाउँ फर्किएर पुर्ख्यौली पेशालाई ब्यवसाहिक बनाउँदै दीपक !

4KNationalDaily
२०७९ माघ २३, सोमबार १७:०७ बजे

गाेरखा- अजिरकोट गाउँपालिकाको सदरमुकाम भच्चेक बजारको एक कुनामा ‘कुसुम मादल तथा ठेकीको घार उद्योग’ लेखिएको एउटा पसल छ ।

जहाँ पुग्नेबित्तिकै विभिन्न तरिकाले चिटिक्कै सिंगारिएका काठहरु देखिन्छन् ।

यहि पसलको एक कुनामा स्थानीय दीपक बिश्वकर्मा चुपचाप काठहरुलाई चाहिने आकार-प्रकारमा ढाल्न ब्यस्त देखिन्छन् ।

जिन्दगीमा आजसम्म अनेकौं अनुभव सम्हालेपछि, असंख्य हण्डर खाएपछि ऊनी अन्ततः गाउँमै फर्किएर आफ्नो पुर्खाको पेशालाई नवीन ढंगले पुर्नजीवन दिने अभियानमा लागेका छन् ।

ठेकी, मादल देखि सारंगीसम्म बनाउन सिपालु उनका हातहरु आजभोलि काठलाई आकार ढाल्नमै ब्यस्त देखिन्छन् ।

माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी भएका, परिवार पाल्नका लागि खाडीमा मजदुरी गर्न पुगेका, देशकै विभिन्न भु-भागमा रोजगारीका नीम्ति गएका ऊनी कोरोना कहर सुरु भएपछि अन्ततः गाउँ फर्किएर लोपोन्मुख पेशालाइ निरन्तरता दिने निस्कर्षमा पुगे ।

‘आजभोलि गाउँमै बस्नेले पनि गाइ-भैँसी पाल्ने चलन हराइरसकेको छ । तरपनि, मैले बनाएको ठेकीको माग अजिरकाेट गाउँपालिका मात्रै नभएर अन्य जिल्लाबाट पनि आउँछ । सारंगी र मादल त धेरै गाउँ बाहिर नै जान्छ’, हातमा रहेको मादललाइ फिनिसिङ गर्दै उनी भन्छन् ।

उनले थपे- ‘आजभोलि म बाहेक यो पेशा अपनाउने गाउँमा कोहि छैन । मैले चाँहि यो पेशालाई ब्यवसाहिक बनाउन सकिन्छ कि भन्ने हेतुले प्रयत्न गरिरहेको छु । स्थानीय नेतृत्वलाई पनि यो पेशाको महत्त्व, बर्तमान अवस्था र संरक्षण हुन नसकेका निकट भबिस्यमै आउनसक्ने दुखत अवस्थाबारे पटकपटक जानकारी गराएको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ । भबिस्यमा म जस्ता युवालाइ गाउँपालिका स्तरबाट केहि सहयोग हुनेछ भन्ने आशा राखेको छु ।’

मादल-ठेकी वा सारंगी चाहिएमा आफुलाई सम्पर्क गर्न सकिने बताउँदै उनले फर्किनेबेला भने- ‘अब फेरि पेट-परिवार पाल्नकै लागि बिदेश जान नपरोस् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily