काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताएका छन्।
मंगलवार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता कोइरालाले कांग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु नहुने बताए।
उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताए।
कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको रहेको बताए।
उनले भने, ‘नेपाली कांग्रेस केही दिन भित्र नै सरकारमा जाँदैछ। अब हामीलाई गल्ती गर्ने छुट छैन। कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट अब हुनु हुँदैन। यि सबै कुरालाई नेपाली कांग्रेसले गम्भीर रुपले लिएको छ। त्यसलाई अघि बढाउने जिम्मा अब नेपाली कांग्रेसबाट जाने नेतृत्वले गर्नुपर्छ। उहाँहरुको जिम्मा सरकारलाई पनि प्रचण्डजीको सरकार छ, १० वटा सत्ता गठबन्धनमा दल छन्। त्यसलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ। यो सबै कुरा नेपाली कांग्रेसको जिम्मेवारीमा, काँधमा आएको छ। यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ।’
प्रतिक्रिया