+
Search

ताजा अपडेट +

पपुलर +

आँबुखैरेनी गाउँपालिकाले नौ महिनामा गरेका उत्कृष्ट ३२ काम सार्वजनिक

4KNationalDaily
२०८० बैशाख ८, शुक्रबार २२:०३ बजे

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा गरेका ३२ उत्कृष्ट कामहरू सार्वजनिक गरेको छ। गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, पर्यटन, वातावरण लगायतका क्षेत्रमा महत्वपूर्ण एवं लोकप्रिय काम गरेको हो।

पालिकाका अध्यक्ष शुक्र चुमाङको सक्रियतामा चालु आर्थिक वर्षको नौ महिनामा दर्जनौँ लोकप्रिय कामहरुको सम्पन्न भएको र दर्जनौँ कामहरुको सुरुवाती चरणमा छ। स्वास्थ्य क्षेत्रमा पालिकाले एमबिबिएस डाक्टरसहित २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने १५ शय्याको अस्पताल सञ्चालन गरेको छ।

अस्पतालमा एक्सरे, ल्याब, इसिजी, ओपिडी, इमर्जेन्सी, सुत्केरी, रेबिज खोप, गर्भपतन, आँखाको उपचार, लगायतका सेवाहरु सञ्चालनमा छन्। सुत्केरी, जेष्ठ नागरिक र विपन्न परिवारलाई निःशुल्क सेवा उपलब्ध गराएको छ। क्यान्सर तथा जटिल रोग लागेका विमारीलाई पालिकाकै स्रोतबाट ५० हजार आर्थिक सहायता उपलब्ध गराउने गरेको छ भने विशेषज्ञहरुको सहभागितामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

शिक्षा क्षेत्रमा पालिकाले आवश्यकताको आधारमा विद्यालयहरुलाई बस खरिद पकृया अगाडि बढाएको छ। पाँच कक्षा सम्म पढ्ने विद्यार्थीलाई पोशाक तथा झोला वितरण, गाउँ शिक्षा कोष स्थापना र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालय भर्नाको कार्यक्रम लागु गरेको छ। त्यस्तै, पालिकाले शिक्षा क्षेत्रमा विद्यालयमा स्मार्ट कक्षाको निर्माण र इलर्निङ सेन्टरको निर्माण प्रकृयालाई अगाडि बढाएको छ।

पर्यटन क्षेत्रको विकासका लागि पालिकाले ऐना पहरामा सिसाको पुल निर्माण र छिम्केश्वरीमा केबलकार निर्माणको लागि तयारी अगाडि बढाएको छ। गाउँपालिकाले घर बनाउँदा निःशुल्क नक्सा पास गर्ने व्यवस्था लागु गरेको छ भने एक वडा एक कालोपत्रे सडक र नक्सापास प्रणाली लागु गरेको छ।

यस्तै कृषि क्षेत्रलाई विकास गर्ने उद्देश्यले पालिकाले कृत्रिम गर्भाधान मिसन कार्यक्रम, कृषि व्यवसाय प्रवद्र्धन केन्द्र, हाट बजार र एक वडा एक उत्पादन कार्यक्रम लगायत थुप्रै लोकप्रिय कार्यक्रम सञ्चालन गरेको छ।

प्रत्येक वडामा नागरिक सेवा केन्द्र र शहीद परिवार तथा घाइते अपांगलाई जीवन निर्वाह भत्ता वितरण लगायतका लोकप्रिय कामहरु पालिकाले अगाडि बढाएको छ। उद्यम विकासको क्षेत्रमा पनि आबुखैरेनीले उद्यम विकास केन्द्रको निर्माण र विभिन्न किसिमका तालिम सञ्चालन गर्ने गरेको छ।

पालिकाले सुशासन स्थापनाको लागि विद्युतीय हाजिरी, अनलाइन राजस्व प्रणाली, अनलाइन योजना सम्झौता, डिजिटल नागरिक वडापत्र र सूचना फेसबुक र वेबसाइटबाट प्रकाशन गर्ने पद्दतीलाई अंगिकार गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily