काठमाडौँ- नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्यासमा बेहोर्दै आएको चर्को घाटालाई कम गर्न चाँडै स्वचालित मूल्य कायम गर्ने बताएका छन्।
आयल निगममा आधिकारिक ट्रेड युनियन रहेको कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा बोल्दै कार्यकारी निर्देशक थानीले अहिले अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य घट्न थालेको र आगामी २–३ महिनासम्म घट्ने अनुमान रहेको बताए।
‘ग्यासको मूल्य घटेर ब्रेक इभनमा आउने अनुमान छ। यदी त्यसो भयो भने हामी स्वचालित मूल्य प्रणाली कायम गर्नेछौं’ उनले भने।
अहिले ग्यासमा प्रतिसिलिण्डर ५ सय ४४ रुपैयाँ घाटा छ। यो घाटा पूर्तीका लागि मुल्य बढाउँदा उपभोक्तालाई मर्का पर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा ग्यासको भाउ घट्नासाथ नेपाली बजारमा स्वचालित मुल्य प्रणाली कायम गर्न तयारी अवस्थामा रहेको उनले बताए। यद्यपि, ग्यासको मुल्य स्वचालित बनाउन निगमले मात्रै नसक्ने उनको भनाइ थियो।
‘ग्यासको मुल्य स्वचालित प्रणालीमा लैजाने हो भने सरकारले नै आँट गर्नुपर्छ। त्यसपछि हामी कार्यान्वयन गर्न तयार छौं’ उनले भने। निगमले अहिले ग्यासको उपभोक्ता मुल्य प्रतिसिलिण्डर एक हजार आठ सय रुपैयाँ निर्धारण गरेको छ। लागत भने करिब २३ सय ५० रुपैयाँ रहेको निगमले जनाएको छ।
चर्को घाटाका कारण १५ दिनमै निगमले ग्यासमा करिब ८० करोड रुपैयाँ नोक्सान बेहोर्ने प्रक्षेपण गरेको छ। ग्यासमा स्वचालित मुल्य प्रणाली लागू गर्न निगमले अध्ययनसमेत सकाएको छ।
निगमले असोज, ०७१ देखी पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित मूल्य प्रणाली कायम गरेपनि ग्यास र हवाइ इन्धनको मूल्य भने निगम नियन्त्रित छ। कार्यक्रममा कार्यकारी निर्देशक थानीले कर्मचारी ट्रेड युनियनसँग हातेमालो गरेर काम गर्न चाहेको बताएका थिए।
प्रतिक्रिया