काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ। रविन्द्र जडेजाको उत्कृष्ट प्रदर्शमा गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई पाँचौं पटक आईपीएलको च्याम्पियन बन्यो।
चेन्नईले सबैभन्दा धेरैपटक आईपीएलको उपाधि जित्ने मुम्बई इन्डियन्सको कीर्तिमानसँग बराबरी गरेको छ। यसअघिसम्म पाँचपटक आईपीएलको उपाधि जित्ने मुम्बई एक्लो टिम थियो।
सोमबार राति सुरु भएको फाइनल खेल वर्षाका कारण मंगलबार बिहानसम्म लम्बिएको थियो। सुरुमा ब्याटिङ गरेको गुजरातले चेन्नईलाई २१५ रनको विजयी लक्ष्य दिएको थियो।
चेन्नईले ब्याटिङ थाल्दा पहिलो ओभरमा नै भारी वर्षा भएपछि खेल रोकिएको थियो। पछि डकवर्थ लेविस पद्धतिको आधारमा ५ ओभर घटाएर खेलाइएको थियो। नयाँ १७१ रनको लक्ष्य चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो।
चेन्नईलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिएको थियो। तीव्र गतिका बलर मोहित शर्माले बलिङ गरिरहेका थिए। कशिलो बलिङ गरिरहेका शर्माले सुरुका ४ बलमा मात्र ३ रन खर्चिएका थिए।
खेल गुजरातले आफ्नो पक्षमा पारिसकेको थियो। तर अन्तिम २ बलमा भने चेन्नईका जडेडाले ‘चमत्कार’ गरे। जडेजाले पाँचौं बलमा लङअफमा सानदार छक्का प्रहार गर्दै जितको सम्भावना कायमै राखे। अन्तिम बलमा ४ रन चाहिँदा जडेजाले चौका प्रहार गर्दै टिमलाई च्याम्पियन बनाए।
चेन्नईको जितमा हिरो बनेका रविन्द्र जडेजा ६ बलमा १ चौका र १ छक्कासहित १५ रनमा नट आउट रहे। त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो। गुजरातका साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको सानदार इनिङ खेलेपनि उपाधि जिताउन सकेनन्।
प्रतिक्रिया