काठमाडौं– बिहिबारदेखि बिक्रीमा आएको घोराही सिमेन्टको प्राथमिक शेयर (आईपीओ)मा पहिलो दिन एक लाख भन्दा बढीले आवेदन दिएका छन् ।
सीडीएस एण्ड क्लियरिङ हाउसका अनुसार ५१ लाख ३५ हजार एक सय कित्ताका लागि एक लाख २२ हजार ८२८ जनाले आवेदन दिएका हुन् ।
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बिहिबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियमबापत ३३५ रूपैयाँ थप गरी प्रतिकित्ता ४३५ रूपैयाँमा आईपीओ बिक्रीमा ल्याएकाे हो । कम्पनीले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको थियो ।
कुल कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर यस अघि बाँडफाँट गरिसकिएको छ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो ।
यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा जारी गरेको हो । सर्वसाधारणले आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
यो आईपीओको विक्री अवधि असार ४ गतेसम्मको लागि तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने असार १४ गतेसम्म विक्री अवधि थप हुने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।
भिडियाे
प्रतिक्रिया