काठमाडौँ– एनएमबी बैंक र डिजिटल माध्यम (खेती एप)बीच किसानलाई बिना धितो कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।
शुक्रबार एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र ‘खेती एप’का सह–सस्थापक तथा निर्देशक तुलसी गिरीले किसानलाई अनलाइनबाट कर्जा दिने गरी सम्झौता भएको हो।
बैंकले धान दिवसको अवसरमा नेपालको बैंकिङ इतिहासमा पहिलो पटक यो योजना ल्याएको हो। यस योजनाले किसानलाई ऋण लिन सहज बैंकले जनाएको छ। किसानले यस्तो कर्जा लिन खेती एपबाट प्रक्रिया थाल्नुपर्नेछ।
किसानहरूमा वित्तीय पहुँच र कर्जा विस्तार नपुगेकोे गुनासो बढिरहेको अवस्थामा एनएमबि बैंकले खेती एपसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो।
अब किसानले कागज र धितो बिना नै किसानलाई कर्जा पाउने भएका छन्।
सम्झौतासँगै किसानहरुमा सहजै कर्जाको पहुँच पुग्ने एनएमबि बैंकका डेपुटी सीईओ गोविन्द घिमिरेले बताए।
‘कृषि क्षेत्रमा सहजता भएन, कर्जा लिन झन्झटिलो भयो। किसानले गरेको उत्पादन फाल्नुपरेको र कर्जाको सहज पहुँच भएन भनिरहेको बेला छ’, उनले भने, ‘कृषिलाई प्रविधिमा जोड्ने र कर्जाको भुक्तानी सहज बनाई उत्पादनलाई खरिद–बिक्री जोड्न सकिनेछ।’
यस्ता छन विशेषताः
बैंकले यो योजना अन्तर्गत बिना धितो डिजिटल कर्जा दिनेछ। किसानले अधिकतम सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन्।
कर्जाको न्यूनतम अवधिमा ३ महिनाको हुने जनाइएको छ।
यो कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने बैंकले जानकारी गराएको छ।
बैंकका अनुसार बैंकले कृषि सामाग्री खरीद गर्न कर्जा दिने भएकाले कर्जा रकम किसानको खातामा प्रत्यक्ष जान्छ। बैंकले किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गर्ने छ।
त्यस्तै, अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ भने निकट भविष्यमा सातै प्रदेशमा पुर्याइने बैंकले बताएको छ।
पछिल्लो एक वर्षदेखि खेती एपमा आवद्ध किसान यस्तो कर्जा लिन योग्य हुनेछन्।
साथै, कर्जालाई ३ किसिममा वर्गिकरण गरी कर्जा पाइन्छ, ती हुन् प्लाटिनम, गोल्डेन र सिल्भर। कर्जाको वर्गिकरणको आधारमा किसानले कर्जा पाउनेछन्।
कुनै किसानले लिएको कर्जा साँवा वा ब्याज भुक्तानी नगरेका कालोसूचीमा राखि भविष्यमा कर्जाको लागि अयोग्य मानिने उल्लेख छ।
प्रतिक्रिया