+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने, ८ वर्षमा होला सम्पन्न?

4KNationalDaily
२०८० श्रावण ३, बुधबार ०९:१६ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन् ।

लामो समयको प्रतीक्षा पछि बूढी गण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ ।

बूढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ ।

१२ सय मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत् आयोजनाले नेपालको उर्जा क्षेत्रकै कायापलट गर्ने दाबी गरिँदै आएको छ।

परामर्शदाताले सन् २०१५ मा तयार पारेको प्रतिवेदन अनुसार आयोजनाको अनुमानित लागत २ अर्ब ५९ करोड डलर थियो। हालको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत २ अर्ब ७७ करोड डलर डलर अर्थात ३ खर्ब ६० अर्ब हाराहारी छ। आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ।

आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ। जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलफूलको क्षतिपूर्तिबापत जग्गाधनीलाई करिब ४२ अर्ब रुपैयाँ वितरण गरिएको छ। आयोजनाबाट भौतिक तथा आर्थिकरुपमा गोरखा र धादिङका ८ हजार एक सय १७ घरपरिवारका प्रभावित हुने छन्। यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रुपमा विस्थापित हुने छन्।

गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बूुढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्क बाँध बनाइने छ। बाँध बाँधेपछि थुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलने छ।

जसबाट धादिङका साबिकका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुने छन्। आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily