+
Search

ताजा अपडेट +

पपुलर +

निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भए, अब उत्पादन क्षेत्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री महत

4KNationalDaily
२०८० श्रावण ५, शुक्रबार २१:५९ बजे

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले निजी क्षेत्र व्यापार क्षेत्रमा बढी केन्द्रित हुँदै गएकाले अब उत्पादन क्षेत्रको नेतृत्व यस क्षेत्रले गर्नुपर्ने बताएका छन्।

काठमाडौँमा शुक्रवार आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको शपथग्रहण कार्यक्रम एवं उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले उत्पादन क्षेत्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताए।

‘पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा हुने लगानी र नियमनकारी भूमिका सरकारी क्षेत्रले निर्वाह गर्छ,’ उनले भने, ‘निजी क्षेत्रको भूमिका अब व्यापारमा मात्रै केन्द्रित हुने होइन, कर्पोरेट कल्चरसहितको निजी क्षेत्र आवश्यक छ।’

निजी क्षेत्रले आफ्नो काम गर्ने पुरातन शैली परिवर्तन गरी थप व्यावसायिक बनाउन आवश्यक रहेको पनि उनले उल्लेख गरे।

पहिले तत्कालीन अर्थमन्त्री डा रामशरण महतले मूल्य अभिवृद्धि कर (भ्याट) लागू परेपछि निजी क्षेत्रले त्यसको विरोध गरे पनि पछि त्यसले व्यवसायमा पारदर्शिता कायम गरेको उनको भनाइ छ।

त्यस्तै सरकारले चालु आर्थिक वर्षको बजेटबाट विभिन्न वस्तुमा दिइरहेको भ्याट छुट खारेज गरेकोमा यसले कर प्रणालीमा थप सुधार हुने अर्थमन्त्री डा महतले उल्लेख गरे। बढी भ्याट छुट दिइरहेकोमा अहिले सरकारले त्यसलाई खारेज गरेर कर विस्तारको नीति लिएको उनले बताए।

लेखा परीक्षण व्यवसायीले आफ्नो अधिकारको दुरुपयोग गर्न नहुनेतर्फ पनि अर्थमन्त्री महतले सचेत गराए। मन्त्री महतले लेखा परीक्षण व्यवसाय विधिको शासन र पारदर्शितासँग सोझै जोडिएको हुँदा त्यसको सुनिश्चितताका लागि जिम्मेवार भएर काम गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily