काठमाडौं– काठमाडौं महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिको जिम्मा वडाध्यक्षलाई दिने निर्णय गरेको भन्दै नेपाल सहभागितामूलक कार्य समूह (नेपान) ले विरोध जनाएको छ ।
सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग गर्दै वडाध्यक्षलाई त्यसको जिम्मेवारी दिने महानगरको निर्णयपछि नेपानले बुधवार विज्ञप्ति प्रकाशित गर्दै विरोध जनाएको हो ।
महानगरको निर्णयले संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन (२०७४) ले सुनिश्चित गरेको विकास निर्माण प्रक्रियामा संलग्न हुने हकलाई बन्देज गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा अभिभावक, शिक्षक, विद्यार्थीको भूमिका नै पहिलो आवश्यकता रहने भएकाले व्यवस्थापन समिति महानगरले वडाध्यक्षलाई जिम्मा दिने निर्णय गर्नु गलत रहेको बताइएको छ ।
‘विद्यालय शिक्षाको गुणस्तर वृद्धिमा पनि अभिभावक, शिक्षक, विद्यार्थीको भूमिका नै पहिलो आवश्यकता हो’, नेपानका अध्यक्ष अर्जुन क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘यही आवश्यकतालाई आत्मसाथ गर्दै विगत देखि विद्यालय व्यवस्थापन समितिको नेतृत्व अभिभावक मध्येबाट नै गर्ने कानुनी व्यवस्था गरिनुको साथै त्यही अनुसार अभ्यास पनि गरिएको हो । यसले विद्यालयप्रति समुदाय र अभिभावकको अपनत्व बढेको पनि अध्ययनहरूले देखाएको छ ।’
त्यस्तै संविधानले मार्ग निर्देश गरेको अभ्यासको सम्मान र प्रवर्धन गर्नुको सट्टा महानगरले विद्यालय व्यवस्थापन समिति भंग गरी वडाध्यक्षलाई समितिको जिम्मेवारी दिने कार्यले सहभागितामूलक विकासलाई कमजोर बनाउने, नागरिकको लोकतान्त्रिक स्पेस खुम्चिने भएकाले तत्काल निर्णय खारेज गर्न समेत क्षेत्रीले अनुरोध गरेको छ ।
काठमाडौँ महानगरपालिकाले गत हप्ता आफू मातहतमा सम्पूर्ण सामुदायिक विद्यालय व्यवस्थापन समिति (विव्यस) भङ्ग गर्ने निर्णय गरेको हो।
महानगरपालिकाको गत असार ३० गते सम्पन्न नगर सभाले उक्त प्रस्ताव पारित गरेपछि विभिन्न शैक्षिक सरोकारका सघसंस्थाहरुले विरोध जनाएका छन् ।
प्रतिक्रिया