+
Search

ताजा अपडेट +

पपुलर +

दैनिक हाजिर गर्नुपर्ने भएपछि विद्युतीय मेशिन नै लगिदिए त्रिविका प्राध्यापकहरुले (भिडियाे)

4KNationalDaily
२०८० श्रावण १९, शुक्रबार १७:५४ बजे

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताएका हुन्।

शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उनले सो मेसिन बोकेर हिँड्नेहरुलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासो समेत गरे।

उपकुलपति बास्कोटाले उनीहरुलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरुले गरेको मिटिङको माइन्युट समेत संगठनको आवरणमा केही मानिसहरुले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टि समेत व्यक्त गरे।

उनले विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि पटकपटक दोहोर्याए।

‘हाम्रा त शिक्षकहरुलाई २२ गते पुगेपछि एकाउन्टेनले हाजिर गर्न आउनुस् भन्ने चलन छ। आएर हाजिर गर्यो, तलब बुझ्ने चलन छ। यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदियौँ, शिक्षकहरुले बोकेर हिँडिदिए’, उनले भने, ‘पुलिसलाई कारबाही गर भन्दा निवेदन लिएन। मेरो अफिस बन्द थियो। मैले होटल एल्लो प्यागोडामा मिटिङ गरेको थिएँ। केही अराजक जत्था कुनै संगठनको आवरणमा आएर माइन्युट नै लुटेर लगे। लुटेर लगेको डकुमेन्ट अहिले पनि त्यो शिक्षामन्त्रीकहाँ छ। पुलिसमा जाहेरी दिँदा नलिएको अवस्था छ।’

उनले त्रिविलाई राजनीतिले गाँजेको बताए। शिक्षक र विद्यार्थीहरुका संगठनले ब्यानर बोकेर भाग खोज्न आउने गरेको उनले बताए।

‘हामीकहाँ कर्मचारी संगठन, प्राध्यापक संघ र विद्यार्थीको युनियन। यो तीनवटा मात्रै हो। तर विद्यार्थीका २२ वटा दर्ता भएका छन्। जति राजनीतिक दल, त्यतिनै छन्। ककति राजनीतिक दल छन्, मलाई त्यो पनि थाहा छैन’, उनले भने, ‘तर ब्यानर लिएर आउँछन् हाम्रो भाग चाहियो भनेर। यो हामीले बसालेको थिति हो। हामीले गम्भीर भएर एनलाइसिस गरौँ। हामीले नै हटाउने हो। यो भिसी एक्लैले चाहेर हटदैन।’

उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरुलाई आवश्यक्ताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily