काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन्।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताएका हुन्।
‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राजस्व अनुसन्धानले सुरुवात गर्यो। ठिक छ प्रशंसै गरौँ अहिलेलाई। तर यो विषयलाई यतिमा मात्रै सिमित राख्नुपर्ने अवस्था रहेन,’ सभापति लामिछानेले भने, ‘किनभने यसमा संगठित अपराध पनि जोडियो। सम्बन्धित मान्छेले कुन ढंगले, कसरी पासपोर्ट र नागरिकता प्राप्त गरेको भन्ने विषय पनि आयो।’
उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशीय अपराध लगायतका विषय पनि जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए।
‘अन्तरदेशीय अपराध पनि यहाँ देखियो। मिलेमतो, संरक्षण जस्ता कयौँ कसुरहरु यसमा देखिए। अनुसन्धान गर्न कसले गर्ने? के कारणले यत्रो दिनसम्म रोकियो? यो गम्भिर विषय भयो। यही बैठक नबस्नुको कारण प्रमाण लुक्ने सम्भावना, संदिग्धहरु भाग्ने सम्भावना हामीले जानिजानि दिइराखेका छौँ कि?,’ उनले लामिछानेले भने, ‘यति ठूलो काण्डलाई हामीले किन नजरअन्दाज गर्यौँ? म अनुरोध गर्न चाहछु, छानबिन अगाडी बढाउनका लागि आजकै बैठकले निर्देशन दिनुपर्यो। जाँचबुझ आयोगको आवश्यकता छ, छैन। छलफलका लागि साथीहरुलाई आग्रह गर्न चाहन्छु। आवश्यकता छ जस्तो मलाई लाग्छ।’
उनले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए ।
भिडियाे
प्रतिक्रिया