+
Search

ताजा अपडेट +

पपुलर +

अब माओवादीमा उथलपुथल आउँछ: जनार्दन शर्मा

4KNationalDaily
२०८० श्रावण २८, आईतवार १५:२१ बजे

भक्तपुर– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी संगठनमा उथलपुथल ल्याउने दाबी गरेका छन् ।

पार्टीको सहायक संगठन वाईसीएल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्थाको अन्त्य हुने र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरु आफैं पाखा लाग्ने दाबी गरेका हुन् ।

पार्टीलाई बचाउन पनि आन्तरिक निर्वाचन उत्तम विकल्प भएको उनको भनाइ छ ।

‘मूल्यांकन माथिका नेताले गरेर हुँदैन, अब तल्लो तहकाले मूल्यांकन गरेर नेता चुन्ने बिधि बसालिन्छ’, नेता शर्माले भने, ‘कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने अभ्यास गरिन्छ । सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुनेछ । अत्यधिक मत ल्याउने क्रमागत उम्मेदवारहरु निर्वाचित हुनेछन् ।’

त्यसपछिका केही निश्चित उम्मेदवार क्रमशः वैकल्पिक नेता बन्ने उनको दाबी थियो ।

नेता शर्माले जनयुद्धबाट प्राप्त उपलब्धिलाई हल्का रुपले हेर्न नहुने बताए । उनले व्यवस्था बदल्न हजारौं सहिदले बगाएको रगत भुल्न नहुने भन्दै नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्याबासी दिनुपर्ने बताए ।

वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै तत्कालिन जनयुद्धका कमाण्डरसमेत रहेका नेता शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको औंल्याए ।

‘अब अवैधानिक बाटो हिँड्नुपर्दैन, वैधानिक बाटोबाटै समाजवादमा पुग्न संविधानले दिशानिर्देश गरेको छ’, उनले भने ।

आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, विकास र समृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरे पनि त्यसलाई प्रचार गर्न नसकिएको उनको गुनासो थियो । पार्टी विरोधीहरुले फैलाएका भ्रम र अफवाहहरुको प्रतिरोध गर्न उनले निर्देशनसमेत दिए ।

https://www.facebook.com/reel/1425261608049682

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily