काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू नभागेको प्रष्टीकरण दिएका छन् । स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए ।
सर्वोच्चबाट ललिता निवासको छानबिन अघि बढाउन आदेश आएको भोलिपल्टै आफू पूर्वनिर्धारित कार्यक्रममा विदेश गएको सन्दर्भमा माधव नेपाल भाग्यो भनेर हल्ला फैलाएको उनको टिप्पणी थियो । उनले आफू जस्तोसुकै चुनौतीको सामना गर्ने नेचर बोकेको मान्छे भएकाले फेस गर्ने जिकिर गरेका छन् ।
‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपर्थ्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ’, नेपालको भनाइ थियो ।
सबै कार्यक्रममा भाग लिएर फर्किउँला भन्ने भएकोमा अनावश्यक टिकाटिप्पणी हुन थालेपछि कार्यक्रम छोट्याएर फर्किएको उनले बताए ।
नेपालले थपे, ‘केहीकेहीले त माधव नेपाल भागे लुकेर बसेका छन् ।फर्किने हिम्मत छैन । म बोल्दिन चुनौतीको सामना गर्छु । बोलेपछि तह लगाएर बस्छु ।’
प्रतिक्रिया