काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौँ वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत् रक्तदान कार्यक्रम भाद्र १ गते शुक्रवार सम्पन्न भएको छ।
मुलुकका सात वटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागी भएका थिए।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो। कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरू बिर्तामोड, इटहरी, वीरगन्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
यसका साथै छैटौँ वार्षिकोत्सवका कार्यक्रमहरू समापन भएको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यसअघि आईएमई लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरूको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० वृक्षारोपण कार्यक्रम गरिएको जानकारी दिए।
साथै उनले वार्षिकोत्सवकै अवसरमा देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम, देशैभरि विभिन्न १३ स्थानहरूमा वृहत् स्वास्थ्य शिविर कार्यक्रम तथा युवा दिवसको अवसर समेत पारेर वित्तीय जनचेतनाद्वारा युवा सशक्तीकरणको कार्यक्रम समेत गरेर छैटौँ वार्षिकोत्सव भव्यरुपमा मनाएको बताए।
रक्तदानअघि काठमाडौं लगायत सातै प्रदेशमा जीवन बिमाबारे जनजागरणका लागि प्रभात फेरी कार्यक्रम गरिएको थियो। देशैभरि गरेर उक्त प्रभात फेरी कार्यक्रममा १५०० जनाभन्दा बढीको सहभागिता थियो।
२०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहक वर्गका विभिन्न आवश्यकताहरूसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बिमा योजनाहरू प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया