काठमाडौं- एसिया कप क्रिकेटमा सोमबार नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक एसिया कप खेलिरहेको नेपालले भारतको सिनियर टोलीसँग पहिलोपटक खेल्न लागेको हो।
नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले क्रिकेट रंगशालामा नेपाली समयानुसार आज (सोमबार) दिउँसो ३:१५ बजे सुरु हुनेछ।
भारतविरुद्ध पहिलोपटक मैदान उत्रिन लागेको नेपाल जित्नै पर्ने दबाबमा छ। प्रतियोगिताको अर्को चरण (सुपर–फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। भारतले भने पहिलो खेलमा पाकिस्तानसँग १–१ अंक बाँडेको थियो। भारत र पाकिस्तानको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका थिए।
नेपालले भारतको यु–१९ र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ। करिब २ महिना अगाडि मात्रै एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतको टीम ‘ए’सँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल भारतको टीम ‘ए’सँग ९ विकेटले पराजित भएको थियो।
उमेर समूहमा भने नेपालले १ पटक भारतीय टिमलाई हराएको छ। २०७४ कात्तिकमा भएको एसिसी यु–१९ एसीया कप क्रिकेटमा नेपालले भारतीय टोलीलाई १९ रनले पराजित गरेको थियो।
नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित हुने सम्भावना पनि उच्च छ। एक्युवेदरले श्रीलंकाको मौसम विभागलाई उद्घृत गर्दै सोमबार बिहान ८ बजेदेखि नै पानी पर्ने सम्भावना रहेको जनाएको छ। वर्षा रातिसम्मै जारी रहन सक्ने बताइएको छ। सोमबार त्यहाँको तापक्रम २७ डिग्री सेल्सियसदेखि २१ सम्म रहने बताइएको छ।
वर्षाका कारण खेल रद्द भएको अवस्थामा नेपाल र भारतले अंक बाँड्नुपर्नेछ। अंक बाँड्नु परेको अवस्थामा भारत स्वत: सुपर–फोरमा पुग्नेछ।
यसअघि पाकिस्तानसँगको खेल हारेको नेपाल अंकतालिकाको पुछारमा छ। पाकिस्तान ३ अंकसहित सुपर–फोरमा पुगिसकेको छ। भारत एक अंकसहित दोस्रो नम्बरमा छ।
प्रतिक्रिया