+
Search

ताजा अपडेट +

पपुलर +

लघु घरेलु तथा साना उद्योगहरूले समृद्धि र खुसी ल्याउँछ : परराष्ट्र मन्त्री साउँद

4KNationalDaily
२०८० भाद्र २४, आईतवार १९:५४ बजे

काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउँदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरूले मात्रै समृद्धि र खुसी ल्याउने भन्दै यस्ता उद्योगहरूको प्रवर्द्धनमा जोड दिएका छन् ।

आइतबार राजधानीमा संयुक्त रूपमा ‘नेपाल भारत अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८०’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने- ‘परिवारमा सुख समृद्धि र खुसी ल्याउने काम घरेलु र साना उद्योगले मात्र गर्न सक्छ । तपाइहरूको यो इमानदार प्रयत्नले देशलाई आर्थिक समृद्धितर्फ डो¥याउने छ । स्थानीय स्रोत र साधनको परिचालन पनि यिनै उद्योग रहेका छन् ।’

उद्यमशीलताको संस्कृतिलाई महिला तथा युवा समुदायबिच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

‘नेपाल र भारतबिच अत्यन्त निकट सम्बन्ध रहेको छ हामी एउटै नदीको पानी पिएर हुर्किन्छौ । हाम्रो सभ्यता र संस्कृति एउटै रहेको छ । दुवै देशबिचको व्यावसायिक सम्बन्धलाई सुदृढ गर्न मेरो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय समितिका अध्यक्ष उमेश प्रसाद सिंहले स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्याङ्कले पुष्टि गरेको बताए ।

छरिएर रहेको पुँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले महासंघ अन्तर्राष्ट्रिय उद्यम फोरममा समेत जोडिएको बताए ।

नेपालमा उद्योग स्थापना गर्न चाहने भारतीय उद्यमीहरूलाई स्वागत गर्ने भन्दै अध्यक्ष सिंहले भने- ‘हामी नेपाल भारतको सांस्कृतिक सम्बन्धलाई उद्यमशीलताको क्षेत्रमा जोडन चाहन्छौँ । आगामी दिनमा नेपाली उत्कृष्ट महिला उद्यमीलाई भारतको औद्योगिक गतिविधिको अध्ययन भ्रमण गराउन चाहन्छौ ।’ अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ सँग सम्बन्धित कार्यक्रम भारतीय राजदूतावाससंगको सहकार्यमा गर्ने विषयमा क्रियाशील रहेको उनले बताए ।

साना उद्योग महासंघ महिला उद्यमी समितिका महासचिव डा. सोनी महतोले महिला उद्यमशीलताको क्षेत्रमा लगानी वृद्धि, उद्योग स्थापनामा सहजीकरण, सहज सीपमूलक तालीम, सरल व्यवसायी कर्जा तथा उपयुक्त प्रविधिमा सर सहयोग विस्तार गर्दै महिलाहरूले सञ्चालन गरेका उत्पादनमूलक व्यवसायहरूलाई विशेष कर छुटको व्यवस्था गर्न सकिएको खण्डमा व्यवसायमा आकर्षित हुने सम्भावनातर्फ राज्यले ध्यान पु¥याउन जरुरी भएको बताइन् ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले देश विकासको महत्त्वपूर्ण पाटो आर्थिक विकास भएको भन्दै रोजगारी सिर्जना गर्ने व्यवसाय सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

‘बिहान उठेदेखि सुत्ने बेलासम्म हामीले विदेशमा उत्पादन भएका वस्तु उपयोग गर्ने परिपाटीमा सुधार आउन पर्दछ’, उनले भनिन् ‘महिलाहरूको व्यवसायमा ४० प्रतिशत कर छुटको व्यवस्था मिलाएका छौँ । विभिन्न तालिमहरू पनि सञ्चालन गरेका छौँ र तालीम पश्चात् व्यवसाय स्थापना र बजारीकरणमा जोडने गरी कार्यक्रम डिजाइन गरेका छौँ । ३२ वडामा ३२ प्रकारको वस्तु उत्पादन हब बनाउने निर्णय समेत गरेका छौँ ।’

निर्णय प्रक्रियामा महिला सहभागिता हुन सके पनि अर्थपूर्ण सहभागिता आवश्यक हुने भएकोले सबै सक्रियतापूर्वक लाग्न उनको आग्रह थियो । सांसद प्रतिमा गौतमले सांस्कृतिक, धार्मिक र सामाजिक रूपमा नेपाल भारत सम्बन्ध प्रगाढ रहेको बताइन् ।

समृद्धिको प्रमुख औजार उद्योग भएको भन्दै उनले महिलाले घर परिवार पनि सम्हाल्नुपर्ने र घरायसी श्रमको मूल्यमा गणना नहुने अहिलेको समस्या भएको बताइन् । थुप्रै सम्भावना भए तापनि हामीले उल्लेख्य काम गर्न नसकेको भन्दै उनले भनिन्- ‘राज्यले महिलाहरूको सक्षमता वृद्धि गर्न थुप्रै काम गर्न बाँकी छ । घरेलु उद्योगहरूलाई विशेष सेवा सुविधा दिनु जरुरी छ । हाम्रा उत्पादनको दुवै देशमा निर्बाध बजार प्रवेशमा यस्ता कार्यक्रमहरू लाभदायी हुनेछन् ।’

कार्यक्रममा महिला उद्यमशीलताको क्षेत्रमा लामो समयदेखि क्रियाशील नेपाल र भारतका अग्रणी महिला उद्यमीहरूलाई सम्मान गरिएको थियो । ग्लोबल इन्डिया मिसनका अध्यक्ष सुनिल कुमार सिंहले कार्यक्रममा ३५ भारतीय महिला उद्यमी सहभागी रहेको जानकारी दिँदै उनले भने ‘नेपाली महिला उद्यमीहरूको औद्योगिक अवलोकन भ्रमणमा हाम्रो पूर्ण सहयोग रहनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily