काठमाडौं– रुकुम पश्चिममा निर्माण हुने २०.७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पिपिए) भएको छ।
आयोजनाको प्रवर्द्धक सांग्रिला हाइड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणबिच मंगलवार ६ महिना हिउँद र ६ महिना बर्षायाम हुने गरी टेक अर पे मोडलमा पीपीए हस्ताक्षर भएको हो।
आयोजनाले उत्पादन गरेको विद्युत हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा पिपिए भएको छ। आयोजना निर्माणको अनुमानित लागत ४ अर्ब रुपैयाँ रहेको छ।
आयोजनाका तर्फबाट सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक प्रदीपकुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सांग्रिला हाइड्रोपावरमा मलेसियामा व्यवसाय गर्दै आएका गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी सचिव खगेन्द्र न्यौपाने अध्यक्ष र सञ्चालकहरूमा एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा, एनआरएनए उपाध्यक्ष तथा कतारमा व्यवसाय गर्दै आएका राज रेग्मी, नवीन कँडेल, रविन गुरुङ र सरोज धिताल रहेका छन्।
उक्त जलविद्युत आयोजनामा एनआरएनएहरूको बहुमत लगानी रहनेछ भने नेपालमा रहेर विभिन्न क्षेत्रमा कार्यरत व्यवसायीको पनि लगानी रहने अध्यक्ष न्यौपानेले बताए। रुकुम पश्चिम आठवीसकोट नगरपालिका वडा नम्बर ३ र ४ भएर बग्ने जल्दीगाड खोलामा निर्माण हुनेछ।
४ सय २२ मिटर हेड रहेको आयोजनाको डिजाइन क्यु ४२.५ छ। आयोजनामा २ हजार ५०० मिटर सुरुङ मार्ग र ३ हजार ५ सय मिटर पेनस्टक पाइप प्रयोग गर्ने गरी बन्नेछ।
आयोजनाले विद्युत गृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सब स्टेशनसम्म १ सय ३२ केभी क्षमताको सब स्टेसन वा ८ किमी नजिक रहेको ४ सय केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेशनमा जोडिनेछ।
आयोजनासम्म जाने पंहुचमार्ग खुलिसकेको र स्तरोन्नति गर्नुपर्ने आयोजनाले जनाएको छ।
यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको जल्दीगाड हाइड्रोका अध्यक्ष न्यौपानेले जानकारी दिए।
आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८५ मंसिरभित्र रहेको छ। आयोजनाबाट वार्षिक रूपमा १२ करोड ७२ लाख ९० हजार युनिट विद्युत ऊर्जा उत्पादन हुनेछ।
प्रतिक्रिया