+
Search

ताजा अपडेट +

पपुलर +

पैसा नभएकै कारण उपचारको अभाव हुने छैन : स्वास्थ्य मन्त्री बस्नेत

4KNationalDaily
२०८० भाद्र ३१, आईतवार ०८:०६ बजे

सिन्धुपाल्चोक–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिँदै मन्त्री बस्नेतले पैसा नभएको कारणले औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने बताए ।

उनले भने, “बिरामी पर्दा गरिबीका कारण पैसा नभएर उपचार गर्न पाउनुभएको छैन भने हाम्रो सम्पर्कमा आउनुस् म निःशुल्क उपचार गराउँछु, उपचार गर्न नपाएर अकालमै कसैको ज्यान जान दिइने छैन, त्यसको जिम्मा म लिन्छु ।”

मन्त्री बस्नेतले गरिब परिवारमा जन्मिएका कारण वा आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश दिदी–बहिनीहरूले उपचार गर्न नसकेको बताउँदै अब उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुने बताए ।

‘केन्द्रमा बसेका स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा उपचार गर्नका लागि पठाएका छौँ, सिन्धुपाल्चोकसहित देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री तथा उपकरण पठाउन थालेका छौँ, अब चाँडै चिकित्सकहरूको दरबन्दी थपेर ६ महिनाभित्र देशमा स्वास्थ्यको रोजगारी सिर्जना गरी नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि काम हुन्छ’, उनले भने ।

उनले शिक्षा र स्वास्थ्य नागरिकका नैसर्गिक अधिकार र मौलिक हक भएकाले स्वास्थ्य र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गराउनमा आफू लागिपरेको बताए । धादिङको एक जना बच्चाले कक्षा १२ को परीक्षा शुल्क रु दुई हजार दुई सय तिर्न नसक्दा आत्महत्या गर्नुपरेको जस्तो घटना अब दोहोरिन नदिइनेमा मन्त्री बस्नेतले प्रतिबद्धता जनाए ।

आफूले विगतदेखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ भन्दै लागिपरेको उनको भनाइ छ । उनले भने, ‘अब मुलुकमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गराएरै छाड्छौँ, उपचार नपाएर र औषधि नपाएर कोही मर्ने छैनन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily