+
Search

ताजा अपडेट +

पपुलर +

देश गम्भीर आर्थिक संकटबाट गुज्रदै छ, समस्या दीर्घकालीक प्रकृतिका छन् : बाबुराम भट्टराई

4KNationalDaily
२०८० आश्विन १३, शनिबार १०:२९ बजे

काठमाडाैं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देश गम्भीर आर्थिक संकट र मन्दीबाट गुज्रिरहेकाे बताएका छन्।

शुक्रबार राति सामाजिक सञ्जाल एक्समा उनले बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा गएका नागरिकले पठाएको रेमिट्यान्सबाहेक अर्थतन्त्रका कुनै सूचक सकारात्मक नभएकाे बताएका छन्।

उनले अहिलेका समस्या तत्कालीक र सामान्य नभइ दीर्घकालिक र संरचनात्मक प्रकृतिका भएकाे टिप्पणी गरेका छन्। यसबेला देशमा गम्भीर आर्थिक विमर्श, राज्यको तर्फबाट गम्भीर नीतिगत र व्यवहारिक पहल तथा हस्तक्षेप हुनुपर्नेमा त्याे हुन नसकेकाे टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘यस्तो बेला खै देशमा गम्भीर आर्थिक विमर्श? खै राज्यको तर्फबाट गम्भीर नीतिगत र व्यावहारिक पहल र हस्तक्षेप? जनतालाई आज मरे भोलि ओखती! सबैले राजनीतिदेखि राजनीतिसम्मको बाँसुरी बजाउनु सट्टा अर्थतन्त्र र अर्थनीतिबारे नि चासो लिने कि?’

उनले भनेका छन्-

भनिन्छ- रोम जल्दै थियो, बादशाह बाँसुरी बजाउँदै थिए।

देश गम्भीर आर्थिक संकटरमन्दीबाट गुज्रदै छ। बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा गएका नागरिकले पठाएको रेमिट्यान्सबाहेक अर्थतन्त्रका कुनै सूचक सकारात्मक छैनन्। बरू गम्भीर ढंगले नकारात्मक र विपरीत दिशातर्फ उन्मुख छन्। समस्या तत्कालीक र सामान्य प्रकृतिका हैनन्, दीर्घकालीक र संरचनात्मक प्रकृतिका छन्।

जस्तै-गत साठी वर्षयता वार्षिक आर्थिक वृद्धिदरले कहिल्यै दुई अंक छोएको छैन। वर्तमान नेपाल राज्य बनेयता अर्थात् सुगौली-सन्धीयता वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ। वैदेशिक ऋण बढेको बढ्यै छ। महँगी निरन्तर उकालो छ। भ्रष्टाचार चुलिएको चुलियै छ। औद्योगिक उत्पादनले दुई अंक नाघ्न सधैं कनिकुथी गरिरहेकै छ। जनशक्ति पलायन त निरन्तर भैरहेकै थियो, केही समययता पुँजीसमेत पलायन भैरहेको बताइन्छ। दशैंको मुखमा प्रायः चलायमान हुने बजार यसपटक सुनसान हुने छनक देखिँदैछ।

यस्तो बेला खै देशमा गम्भीर आर्थिक विमर्श? खै राज्यको तर्फबाट गम्भीर नीतिगत र व्यावहारिक पहल र हस्तक्षेप? जनतालाई आज मरे भोलि ओखती!!

सबैले राजनीतिदेखि राजनीतिसम्मको बाँसुरी बजाउनु सट्टा अर्थतन्त्र र अर्थनीतिबारे नि चासो लिने कि ?

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily