+
Search

ताजा अपडेट +

पपुलर +

९० मेगावाटको मर्स्याङ्दी आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र बनाइसक्ने लक्ष्य

4KNationalDaily
२०८० कार्तिक ३, शुक्रबार १२:२० बजे

काठमाडौं- ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भएको छ।

तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत् आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एम ए पावर प्रालिले जनाएको छ।

कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन्।

आयोजनाको विद्युत् वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद-बिक्री गर्ने सम्झौता भएको छ।

आयोजनाबाट हिउँदमा १८४ दशमलव ६७ गिगावाट आवर र वर्षायाममा ३७७ दशमलव ९३ गिगावाट आवर ऊर्जा उत्पादन हुने छ।

आयोजनाबाट २०८६ वैशाख २२ गते व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाकारी दिए।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन (ईआईए) अन्तिम चरणमा रहेको र वित्तीय व्यवस्थापनका लागि नेपालीसँगै विदेशी लगानीकर्ताहरुसँग पनि आवश्यक प्रक्रिया अघि बढाइसकिएको कम्पनीका अध्यक्ष आचार्यले बताए।

एम ए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको निर्माण ६ महिनाभित्र सकेर मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको निर्माणमा हात हाल्ने पनि आचार्यले जनाकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily