+
Search

ताजा अपडेट +

पपुलर +

एनआरएनए विवाद : बद्री केसी र आरके शर्माबीच भेटवार्ता, सहमतिको बटमलाईन ‘पुनः निर्वाचन’

4KNationalDaily
२०८० कार्तिक १०, शुक्रबार ०९:४९ बजे

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ। ठमेलस्थित हिमालयन जाभामा अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार दिउँसो करिब ३० मिनेट भेटवार्ता भएको थियो।

सो भेटमा केसीले शर्मालाई मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए। शर्मासँग भेटका लागि केसी एक्लै पुगेका थिए। शर्मासँगै भने उनका चुनावी कमाण्डर समेत रहेका डीबी क्षेत्रीसँगै जाभामा पुगेका थिए।

केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि तयार भएको त्यस भेटमा भनेका थिए।

उनले आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको छ। तर, शर्माले भने आफूहरुको अडान पुन: निर्वाचन नै भएको जवाफ दिएका थिए। पुन: निर्वाचनका लागि केसी तयार भए शर्माले आफ्नो पक्षका साथीहरुसँग छलफल गर्ने बताएका थिए।

‘भेटमा मैले निर्वाचन त्रुटिपूर्ण रह्यो, पुन: निर्वाचन भयो भने सोच्न सकिन्छ, यसको अरु विकल्प छैन भनेर स्पष्ट कुरा राखेको छु’, शर्माले भने, ‘२० तारिखको सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर हामीले वैधानिक ढंगले कार्यक्रम गरेर मेरो नेतृत्वम नयाँ कार्यसमिति गठन गरेका हौं। एनआरएनएको माया उहाँमा छ भने पुनर्निर्वाचनका लागि तयार हुनुपर्छ।’

निर्वाचन प्रक्रियामा त्रुटि भएको कुरा केसीले पनि विज्ञप्तिमा स्वीकार गरिसकेको विषय भएको शर्माको दाबी थियो। जनताले पनि त्यही कुरा स्वीकारेको भन्दै शर्माले त्रुटिपूर्ण निर्वाचन भइसकेपछि अरु विकल्प सोच्न नसकिने अडान लिएका हुन्।

सो भेटमा निर्वाचनबारे चर्चा भए पनि कुनै सहमति भने नभएको बैठकमा सहभागी डीबी क्षेत्रीले बताए।

‘म र आरके शर्माले चुनावमा अनियमितता भयो। त्यसलाई सच्याएर जानु भनेको पुन: निर्वाचन हो भन्ने कुरा स्पष्ट राखेका छौं’, बैठकमा सहभागी क्षेत्रीले भने, ‘यद्यपि हामीहरुबीचमा कुनै समझदारी बन्न सकेन।’

एनआरएनए निर्वाचनमा केसी निर्वाचित भएको घोषणा गरिएपछि अध्यक्षका अन्य प्रत्यासीले धाँधलीको आरोप लगाउँदै पुन: निर्वाचनको माग गरेका थिए। पछि धाँधलीबारे छानबिन गर्ने भनिए पनि केसीले शपथ लिएपछि विपक्षी समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily