काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीजि कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन् ।
मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्बजनिक गरेका हुन् ।
‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनिबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन्’ उनले आफनो प्रस्टीकरण दिदै सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले निजी कम्पनिले प्रायोजन गरेको कार्यक्रम प्रति आक्रोश पनि ब्यक्त गरेका छन् । ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो तर तर काठमाडौं महानगर बिक्रीमा छैन ।’
उनले अझ अगाडी लेखेका छन, ‘तपाईंहरुले पुरै देशनै बेच्नु भो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’
उपत्यकाको फोहोरमा २ अर्बको भ्रष्टाचार
बैठकमा उपत्यकाको फोहोर एकीकृत रुपमा व्यवस्थापन गर्न दिने प्रस्ताव राखिएको थियो । र, फोहोर व्यवस्थापनको जिम्मा हिमालयन बैंकका पूर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठको कम्पनी नेपवेष्टलाई दिने तयारी भइरहेको छ ।
जबकि मेयर फोरमको सोभन्दा अगाडीको बैठकले नै फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्टलाई नदिने निर्णय गरिसकेको थियो । यसअघिको बैठकले नै नेपवेष्टलाई नदिने भनेर गरेको निर्णय हिजोको बैठकमा फेरि राखिएपछि काठमाडौँ महानगरका मेयर शाह असन्तुष्ट बनेका थिए ।
काठमाडौँ उपत्यकाका मेयर र उपमेयरहरुको संस्था मेयर्स फोरमले फोहोर व्यवस्थापनको ठेक्का दिन प्रयास गरिरहेको संस्था अहिले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी लगानी वोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदा छानेको कम्पनी हो । अधिकारी वोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए ।
वोर्डले २०७४ साल फागुन २३ गते बुधबार काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्टलाई दिने निर्णय गरेर प्रारम्भिक सम्झौता गरेको थियो । सो सम्झौतामा सम्झौता भएको ६ महिनाभित्रमा आवश्यक तयारी गरेर फोहोर उठाउनु पर्ने भनिएको थियो । सम्झौतामा संकलित फोहोरबाट विद्युत, ग्यास र कम्पोष्ट मल बनाउने भनिएको थियो । यसका लागि पहिलो चरणमा ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने भनिएको थियो ।
प्रतिक्रिया