+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकले बढाउन सकेन नाफा, खुद ब्याज आम्दानी घट्यो

4KNationalDaily
२०८० कार्तिक १८, शनिबार १३:१४ बजे

काठमाडौं– गत आर्थिक वर्षमा नेपाल सेञ्चुरी बैंकलाई गाभेको प्रभु बैंकको नाफा १ अर्ब नाघेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात बढेपनि सम्भावित कर्जा नोक्सानीको प्रोभिजन घटेको छ ।

गत वर्षको सोही अवधिमा प्रभु बैकले मात्रै आर्जन गरेको खुद ब्याज आम्दानी र नाफा चालु आर्थिक वर्षमा बढेपनि प्रभुमा गाभिएको सेञ्चुरीको खुद ब्याज आम्दानी समेत तुलना गर्दा बैंकको खुद ब्याज आम्दानी घटेको छ । तर, ब्याज आम्दानी घटेपनि प्रोभिजन घटेसँगै बैंकको नाफा भने गत आर्थिक वर्षको सोही अवधिमा दुबै बैकले आर्जन गरेको हाराहारी पुगेको छ ।

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको प्रथम त्रैमासमा प्रभु बैंकले आर्जन गरेको ७० करोड ५० लाख मुनाफा भन्दा ४६.१७ प्रतिशतले बढी हो । प्रभुमा गाभिएको सेञ्चुरी बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा करिब ३२ करोड नाफा कमाएको थियो ।

गत असारको तुलनामा बैंकको निक्षेप र कर्जा दुबै घटेको छ । असार मसान्तको तुलनामा बैंकको निक्षेप ४.४८ प्रतिशतले घटेर २ अर्ब ७६ करोड १५ लाखमा झर्दा बैकको कर्जा लगानी ०.६५ प्रतिशतले घटेर २ खर्ब ३६ अर्ब ६६ करोडमा झरेको छ ।

प्रथम त्रैमासमा बैंकको आम्दानीको मूख्य स्रोत मानिने खुद ब्याज आम्दानी २ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मर्जर अघि प्रभु बैंकले मात्रै १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा चालु आवको प्रथम त्रैमासमा २९.१५ प्रतिशतले खुद ब्याज आम्दानीमा वृद्धि भएको हो । तर, गत आर्थिक वर्षको सोही अवधिमा सेञ्चुरी बैंकले १ अर्ब ७ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस आधारमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट भएको छ ।

बैंकको निष्क्रिय कर्जा १.६८ प्रतिशतलबाट बढेर ३.९७ प्रतिशत पुगेको छ । मर्जरपछि २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको प्रभु बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसाबाट घटेर १७ रुपैयाँ ५७ पैसामा झरेको छ ।

बैंकको सञ्चित नाफा ३२ करोड ५१ लाख र जगेडा कोषमा १० अर्ब ९३ करोड २८ लाख रुपैयाँ छ । असोज मसान्तमा बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात ८.९३ गुणा छ ।

असोजमा बैंकको पूँजीकोष अनुपात १२.५८ प्रतिशत, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८८.८८ प्रतिशत र आधार दर १०.१७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily