फाइल तस्बिर
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक नेतासहित २२ जनालाई प्रहरी प्रभाग स्वयम्भुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भई कतार बस्ने एनआरएनए अभियन्ता टेक बहादुर कार्की(टीबी कार्की) पनि रहेको प्रहरी स्रोतले जनाएको छ।
कार्की एनआरएनएका पूर्व उपाध्यक्ष,पूर्व सल्लाहकार एवं एघारौँ अधिवेशनको निर्वाचन समितिका सदस्य रहिसकेका व्यक्ती हुन ।उनीलगायतका व्यक्तिहरू स्वयम्भू क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन । हाल कार्कीलाई प्रहरी वृत्त स्वयम्भुको हिरासतमा राखिएको छ भने यसअघि पनि उनी यस्तो प्रकरणमा पक्राउ परेको प्रहरीले बताएको छ ।
प्रहरी स्रोतका अनुसार कार्कीले हाल एमालेका नेता र प्रहरी हाकिमहरुको पावर लगाउँदै प्रहरीबाट छुट्ने प्रयास गरिरहेका छन् । तर, मिडियामा सोमबार हल्लाखल्ला भएपछि र समाचार प्रकाशित भएपछि प्रहरीले उनलाई छाड्न सकेको छैन । अहिले बाहिर हल्ला भएकाले पक्राऊ परेकाहरू तिहारभर प्रहरी खोरमै हुने देखिएको छ भने उनीहरूलाई जुवा एनअन्तर्गत कारबाही हुने जनाइएको छ ।
एनआरएनएको ११ औँ महाधिवेशनमा विवादका बिच निर्वाचन समितिका सदस्यको नाताले कार्कीले नै बद्री केसीलाई शपथ दिलाएपछि एनआरएनए अभियन्ता नै भए पनि उनी विवादमा तानिएका थिए । कार्कीले पूर्व अध्यक्ष बद्री केसी समूहसँग आर्थिक साठगाँठ गरेर निर्वाचन समितिका अन्य सदस्यले निर्वाचनमा धाधलि भएको भन्दै बहिस्कार गर्दा पनि र पूर्व अध्यक्षहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशन र निर्वाचन स्थगित गराउँदा पनि जबरजस्ती केही पदाधिकारीको शपथ खुवाएका थिए । उनले निर्वाचन समितिलाई मिलाउने भन्दै केसी समूहबाट करोडौँ रकम लिएको र त्यही रकमले अहिले जुवा खेलेको एनआरएनए स्रोतले दाबी गर्यो ।
जुवाको खालबाट केही अन्य हाई प्रोफाइल व्यक्तिहरू पनि पक्राउ परेका छन् । एनआरएनएका पूर्व उपाध्यक्ष कार्की र एनआरएनए स्विजरल्यान्डका संस्थापक सञ्जय मुडवरी सहित २२ जना पक्राऊ परेका छन् ।
यस्तै नागार्जुन नगरपालिकास्थित इचङ्गुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् । सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठुलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरूको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाई प्रोफाइल व्यक्तिहरू पक्राउ परेकाले उनीहरूलाई छाड्न तीव्र दबाब आइरहेको बताइएको छ ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाई प्रोफाइल भएकैले छाड्न तीव्र दबाब आइरहेको ती अधिकारीको भनाइ छ ।
उनले हाई प्रोफाइल भनिएका सबै व्यक्तिहरूको थप विवरण भने खुलाउन चाहेनन् । पक्राउ पर्नेमा प्रहरी हाकिमहरूका आफन्त समेत पनि रहेका छन् ।
प्रतिक्रिया