+
Search

ताजा अपडेट +

पपुलर +

भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले इन्धनको मूल्य किन समायोजन गरेन ?

4KNationalDaily
२०८० मंसिर ६, बुधबार १५:०९ बजे

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन आनकानी गरेको छ। इन्डियन आयल कर्पोरेशन (आईओसी)ले निगमलाई हरेक १५ दिनमा पठाउने नयाँ मूल्यसूचीको आधारमा नेपालमा पनि इन्धनको मूल्यमा समायोजन गर्ने गरिएको थियो।

तर, यो पटक मंसिर १ गते अर्थात् नोभेम्बर १५ तारिखमा नै नयाँ मूल्यसूची पठाएपनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन। यो पटक आईओसी निगमलाई पेट्रोलमा प्रतिलिटर ८० पैसा र डिजलमा प्रतिलिटर ७ रुपैयाँ मूल्य घटाएर पठाएको निगमले जनाएको छ।

यसो हुँदा निगमले पनि नयाँ मूल्यसूची आएको दिन नै नेपालमा पेट्रोल र डिजलको मूल्य त्यही अनुपातमा स्वचालित मूल्य अनुसार मूल्य समायोजन गर्नुपर्ने थियो।

निगमका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा छ। यही अनुपातमा निगमलाई ग्यासमा मासिक लगभग ७० करोड रुपैयाँ घाटा रहेको ठाकुर बताउँछन्। उनका अनुसार गएको १ तारिखदेखि १५ दिनमा ग्यासमा मात्र ३४ करोड रुपैयाँ घाटा छ। ग्यासको घाटाका कारण मूल्य घटाउन नसकिएको उनले जिकिर गरे।

यस्तै, डिजलमा आगामी १५ दिनमा निगमलाई लगभग ३५ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ। पछिल्लो पटक कात्तिक १४ गते भारतबाट डिजल र मट्टितेलको मूल्य घटेर आएका कारण निगमले नेपालमा पनि प्रतिलिटर ४ रुपैयाँले घटाएको थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजलको मूल्य १६८ रुपैयाँमा कारोबार भइरहेको छ।

सरकारले दसैंअघि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेको थियो। त्यही अनुसार निगमले पनि स्वचालित मूल्य कायम गरेको थियो। तर, पछि ग्यासको मूल्य भारतबाट आकासिएर आएपछि चाडवाडको बेलामा बढेर आएको मूल्य नबढाउने र घटेर आएको खण्डमा मात्र मूल्य घटाउने गरी स्वचालित मूल्यलाई स्थगित गरियो।

अन्तर्राष्ट्रिय बजारमा यो महिना कच्चा तेलको मूल्य प्रति ब्यारल ७३ अमेरिकी डलरसम्म तल झरेको थियो। यो महिनाको सुरुवाती दिनमा प्रतिब्यारल ८५ डलरमा कारोबार भएको कच्चा तेलको मूल्यमा ९ प्रतिशतले गिरावट आएर ७३ डलरमा झरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily