काठमाडौं– काठमाडौं महानगरपालिकाले करारमा २३० जना कर्मचारी मागेको छ । आज एक सूचना जारी गर्दै महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो ।
महानगरले बढीमा ५ महिनाको लागि काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा मागेको हो ।
दरखास्त महानगरको वेवसाइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८० ०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्ने महानगरले जनाएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले आवेदन दिन भनेको छ । महानगरपालिका भित्रका बासिन्दा र यसअघि पनि यही काम गरेकाहरुलाई प्राथमिकता राखिने महानगरले जनाएको छ ।
सुपरिवेक्षक पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ । यसमा बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र मासिक ३४ हजार ७३० रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइने सूचनामा उल्लेख छ । यस्तै
गणक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख छ । यसमा पनि बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र तलब ३२ हजार ९०२ रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइने उल्लेख छ ।
प्रतिक्रिया