+
Search

ताजा अपडेट +

पपुलर +

५ प्रतिशत सेयर राखेर मल्होत्राले साहस ऊर्जालाई बेचे ३४१ मेगावाटको बूढीगण्डकी

4KNationalDaily
२०८० माघ २, मंगलवार २१:४६ बजे

गाेरखा- व्यवसायी दीपक मल्होत्राको कम्पनी टाइम्स इनर्जीले आफू निर्माणको प्रस्तावक रहेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना साहस ऊर्जा लिमिटेडलाई बिक्री गरेको छ।

३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको लाइसेन्स २ अर्ब रुपैयाँमा ‘डिल’ भएको हो। उक्त लेनदेनअनुसार आयोजनामा व्यवसायी मल्होत्राले आफ्नो ५ प्रतिशत सेयर कायम राखेका छन्।

साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकले आफ्नो कम्पनीले अब उक्त आयोजना निर्माण गर्ने बताए।

‘साहस ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना ८६ मेवाको सफल निर्माण र सञ्चालनपश्चात् साहस ऊर्जा लिमिटेडकै लगानीमा ३४१ मेवाको अर्धजलाश्ययुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गइरहेको सहर्ष जानकारी गराउँछु’, विज्ञप्ति जारी गर्दै पाठकले भनेका छन्।

परियोजनाबारे आगामी दिनमा जानकारी गराउने उनले बताएका छन्।  टाइम्स इनर्जी प्रालिको नाममा रहेको यो आयोजनाको लाइसेन्स खरिदबिक्री प्रक्रिया यही साता टुंग्याउने तयारी छ।

आयोजना पिकिङ रन अफ दि रिभर (पीआरओआर) प्रकृतिको हुनेछ।

आयोजना गोरखाको धार्चे-१ र ३ तथा चुमनुब्री गाउँपालिका वडा न ३ मा निर्माण हुनेछ। आयोजनाको बाँधस्थल र जलाशय चुमनुब्रीमा पर्छ। जुन मनास्लु संरक्षण क्षेत्रको दक्षिणी सुरुवाती भागमा पर्दछ। बाँकी सबै संरचना मनास्लु संरक्षण क्षेत्र बाहिर पर्छन्।

यो आयोजना बनाउन ६५ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। टाइम्स इनर्जी आईएमएस ग्रुपको कम्पनी हो। आईएमएस ग्रुपका अध्यक्ष व्यापारी मल्होत्रा हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily