+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकको नाफामा २१.४५% ले गिरावट, वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख ऋणात्मक

4KNationalDaily
२०८० माघ ६, शनिबार १५:३९ बजे

काठमाडौं- माछापुच्छ्रे बैंकको नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक वित्तीय विवरण अनुसार खुद नाफा ८० करोड ५३ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।

यो रकम गत बर्षकाे पहिलो ६ महिनाको तुलनामा २१.४५ प्रतिशत कम हो। बैंकले गत वर्ष पुससम्म १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी तथा खुद फि र कमिसन आम्दानीमा गिरावटको असर बैंकको नाफामा देखिएको हो।

बैंकले पुस मसान्त सम्ममा खुद ब्याज आम्दानीबापत बैंकले २ अर्ब ६३ करोड आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७९ करोड थियो। खुद फि र कमिसन आम्दानीबापत बैंकले ५४ करोड ३६ लाख आर्जन गरेको छ। यो रकम पोहोर ६ महिनामा ५८ करोड १७ लाख रुपैयाँ थियो।

यस्तै, गत वर्षको तुलनामा बैंकको कर्मचारी तथा संचालन खर्च बढेको छ। कर्मचारीका नाममा १ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ। यो रकम पोहोर ६ महिनाको तुलनामा ४ करोड रुपैयाँ बढी हो। संचालन मुनाफा गत वर्ष ६ महिनामा १ अर्ब ४७ करोड रहेकामा यसपालि १ अर्ब २७ करोडमा झरेको छ।

बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक भएको छ। पुससम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख ऋणात्मक रहेको हो। गत वर्ष ६ महिनामा वितरणयोग्य मुनाफा १ अर्ब ५ करोड थियो। प्रतिसेयर आम्दानी १३.८६ रुपैयाँमा झरेको छ।

बैंकको खराब ऋण बढेर २.६२ प्रतिशत पुगेको छ। पोहोर पुसमा १.४१ प्रतिशत थियो। कम्पनीको प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ छ।

पुससम्म कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६२ करोड रुपैयाँ छ। पोहोरको मुनाफाबाट १३.३ प्रतिशत अर्थात १ अर्ब ३६ करोड बराबरको बोनस सेयर वितरण गरेएकाले चुक्ता पुँजी बढेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily