+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा बोर्लाङका ढकालहरू र कुलपूजा

4KNationalDaily
२०८० माघ १०, बुधबार २१:१६ बजे

‘कुल’को अर्थ ‘आफ्नो वंश’ हो भने ‘देवता’को अर्थ ‘संरक्षक वा आराध्य देव’ हो ।

‘कुलदेवता’ भन्ने शब्द अथर्ववेदको ‘कुलायन’ शब्द र शुक्लयजुर्वेदको ‘कुलायनी’ शब्दबाट लिइएको हो । यो शब्दको खास प्रयोग कुनै कुल-वंश वा गोत्र प्रवर्द्धनका लागि एक निश्चित देवतालाई संरक्षकका रूपमा मान्ने परम्परासंग सम्बन्धित त छ । यसरी हेर्दा एकै गोत्रीय वंशज भित्रका भाइबन्धुहरू मिलेर सनातनदेखि मानिआएको आराध्य देव पुज्ने परम्परालाई ‘कुलपूजा’ भनिने रहेछ भन्ने थाहा हुन्छ ।
अर्को अर्थमा कुलपूजा आफ्नो कुलका देवता र पितृलाई खुसी बनाउनको लागि गरिने संस्कार हो ।

सत्ययुगदेखि द्वापर युगसम्मै कुलदेवताक प्रसङ्ग आउँछ । पाँच हजार वर्षपूर्वक भगवान् श्रीकृष्ण र गोवर्द्धन पर्वतको प्रसङ्गमा समेत कुलपूजा जोडिएको भेटिन्छ । नेपालमा कैलाश मानसरोवरदेखि ब्रह्मपुत्र नदीसम्म फैलिएको हिमवत्खण्ड गोरखा मण्डल आर्यावर्त क्षेत्रको यस पुण्य भूमिकी अधिष्ठात्री पार्वतीलाई कुलदेवी र शिवजीलाई आराध्य देव मान्ने समुदाय ठुलो छ । यसमध्येमा गोरखा बोर्लाङ मूलथलो भएका ढकालहरूले पवित्र स्वस्थानी देवीको व्रत-पुजा आरम्भ हुने अघिल्लो दिन (पौष शुक्ल चतुर्दशीका दिन) मा आफ्नो आराध्य देव शिवजीलाई सम्झेर कुल पूजा गर्छन् ।

यहाँका ढकालहरूले पौष शुक्ल चतुर्दशीको दिनमा कुलदेवता (आराध्य देव) शिवजीको पूजा गरेपश्चात् पौष शुक्ल पूर्णिमाका दिनबाट एक महिनासम्म व्रत बसी स्वस्थानी परमेश्वरी र शिवजीको पूजा गर्ने प्रचलन परापुर्वककालदेखि नै चलिआएको पाइन्छ । तर, ढकाल समुदाय भित्र बसाइ र स्थानीयताका आधारमा कुलको नाम र पूजा गर्ने तरिका फरक फरक देखिन्छ ।

पाशुपत क्षेत्रबाट अछाम बाईकोटमा पुजारीका रूपमा पुगेका कुलपुरुष गोविन्ददेव ढकालका पालादेखि अहिलेसम्म ढकाल नै पुजारी रहने चलन छ । तिनै गोविन्ददेव ढकालका १५ औँ पुस्ताका अनन्त ढकाल धुरन्धर ज्योतिष तथा आयुर्वेद, योग र तन्त्र विद्याका सिद्धहस्त थिए ।

यिनै महान् व्यक्तित्व अनन्तलाई राजा राम शाहले गोरखा दरबारमा ल्याए ।केही समय दरबारमै बसेर काम गरेपछि अनन्तको काम देखि खुसी भएका राजा राम शाहले ‘कहाँ भन्नुहुन्छ त्यहीँ बस्ने बन्दोबस्त मिलाउँछु’ भनेपछि ज्योतिष अनन्तले ‘जहाँ धानका एकहाते लामा बाला फल्छन्, म त्यसै ठाउँको शिरमा बस्छु’ भनेछन् ।

गोरखा राज्यको सरहदभित्र त्यस्तो ठाउँको खोजी गर्दा बोर्लाङको पिपलटार फाँटमा एकहाते लामा धानका बाला भेटिएछ । यस पश्चात् डाँडाको टुप्पामा कोटकाली मन्दिर स्थापना गरी ज्योतिष अनन्तलाई पिपलटार र सिमलटार फाँटसमेत बिर्ता दिई बोर्लाङ (हाल ठाँटिबजार रहेको स्थान वरपर) बसोबास गर्ने स्थानको बन्दोबस्त गरिएको थियो भन्ने किंवदन्ती छ ।

बोर्लाङमा बिर्ता पाएपछि अनन्तले आफ्नो अछाम काफलगणतिर रहेका पिता मुक्त, काका हिरा र हजुर’बा जुल्फुलाई समेत लिन पठाएका थिए रे । त्यति बेला ९ जना बन्धुहरू सहित उनका बा बोर्लाङमा आएर केही समय बसी फर्किगएका थिए रे ।

अनन्त ढकाल, कोटकाली मन्दिरको स्थापना र बोर्लाङको इतिहाससँगै पिपलटार फाँटदेखि तल रहेको ‘मरेङघाट’ तथा ‘भाङघारी’ क्षेत्रलाई तन्त्र साधनाको क्षेत्रका रूपमा स्थापित गरी सोही वर्षबाट अनन्त ढकालले बोर्लाङ पिपलटारमा रहेको विशाल पिपलको वृक्षमुनि कुलदेवताकको स्थान बनाइ कुल पूजा चलाएका र अहिलेसम्म बोर्लाङमा सोही बमोजिम कुल पूजा निरन्तर चलिरहेको छ ।

त्यहाँ ढकालहरूको कुलदेवता रहेको ठाउँको नाम नै ‘देउता थान’ हो भने मरेङघाट क्षेत्रमा विगत ५/७ वर्ष अघिसम्म ढकाल नै पुजारी रहने प्रचलन थियो, अहिले बुढिगण्डकी जलाशययुक्त आयोजनाका कारण धेरै ढकालहरू विस्थापित भएपछि अन्य थरका ब्राह्मणले पूजा चलाएका छन् ।

अनन्त ढकालले बोर्लाङमा सुरुवात गरेको कुलदेवताकको थानमा वि.सं. २०२२ ताकासम्म गोरखा, धादिङ लगायतका छिमेकी जिल्लाबाट समेत ढकालहरू आएर पूजाआजामा सरिक हुन्थे । पछि विविध कठिनाइका कारण आफू बसोबास गर्ने क्षेत्रमा नै कुल पूजा गर्न थालेको कुरा ९१ वर्षीय भवानी ढकालले बताउनुभयो ।

अनन्त ढकालका सन्तान कति थिए भन्नेबारे यकिन नभए पनि हालसम्म अछाममा ‘नामक’ र गोरखामा ‘दामोदर’ गरी दुई भाइ छोराका वंशजहरू देखिन्छन् । अनन्तले केही समय स्याङ्जामा पनि काम गरेका हुन् कि भन्ने देखिएको छ ।

आज पौष शुक्ल चतुर्दशीका दिन बोर्लाङ मूलथलो भई गोरखा, चितवन, काठमाण्डौं, धादिङ, नेपालगन्ज लगायत देशभर विभिन्न क्षेत्र र विदेशमा रहेका ढकाल बन्धुहरूले समेत आ-आफ्नो ठाउँमा विधिपूर्वक आफ्नो कुलपूजा सम्पन्न गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily