कास्की– सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार जाहेरी दर्ता भएको हो। सभापति लामिछानेसँगै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशविरुद्ध पनि जाहेरी परेको हो।
त्यस्तै नेचर हर्व, गोर्खा मिडिया नेटवर्कलगायत १५ संस्थालाई पनि जाहेरीमा विपक्षी बनाइएको छ। प्रहरीले लामो समयदेखि यस प्रकरणमा अनुसन्धान गर्दै आएको थियो।
सहकारीका सञ्चालक जीवी राई भने फरार छन्। उनलाई खोजी गर्न प्रहरीले इन्टरपोल प्रहरीको सहयोग लिएको छ।
पोखरा महानगरपालिका ४ मा सञ्चालित सहकारीका पदाधिकारीले निक्षेपकर्ताको बचत फिर्ता नगरेको र हिनामिना गरेको भन्दै ठगीको उजुरी परेको थियो। बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको थियो। गत साउन २२ गतेको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।
१ हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा निवेदन दिएपछि सहकारी विभागले पनि अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गरिसकेको छ।
प्रतिक्रिया