+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंका सडकमा स्मार्ट स्ट्रिट लाइट: १२ करोड खर्च गर्दै महानगर र विद्युत् प्राधिकरण

4KNationalDaily
२०८० माघ २८, आईतवार ०९:४४ बजे

काठमाडौं– काठमाडौं महानगरले अहिले महानगर क्षेत्रका सडकहरुमा धमाधम स्मार्ट स्ट्रिट लाइट (सडक बत्ती) जडान गरिरहेको छ। रातको समयमा सडक र बजारलाई उज्यालो बनाउन सुरु गरिएको योजनाअन्तर्गत १२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको महानगरको भनाइ छ।

जसका लागि कूल ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमानको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत् प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख छ।

यसका लागि नेपाल विद्युत् प्राधिकरण र सडक विभागसँग सहकार्य भएको महानगरले जनाएको छ। स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता काम गर्न साझेदारसँग सहकार्यका लागि २०७९ माघ २४ गते सम्झौता भएको थियो।

यसबाट काम गर्नका लागि रुट पनि छुट्याइएको छ। बत्ती जडान गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो। यसबाट छनोट भएको निर्माण पक्षसँग २०८० बैशाख २५ गते सम्झौता भएको थियो। सम्झौताबमोजिम २०८१ बैशाख २४ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ।

स्मार्ट स्ट्रिट लाइटबाट सडक झलमल्ल पार्ने यो अभियानमा ५० प्रतिशत काम सकिएको महानगरपालिकाले जनाएको छ।

१ हजार बढी लाइट जडान सकियो

१ हजार ३७ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरिसकिएको महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलले बताए।

महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइतीघर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा जडान गरिएको उनको भनाइ छ।

यस्तै त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा र चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिसकिएको उनले बताए। महानगरले फराकिलो सडकमा १२० वाट र साँघुरा सडकमा ९० वाटका बत्ती जडान गरेको पौडेल बताउँछन्।

यी सडकखण्डमा प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ गरी जम्मा १ हजार ७२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो। तर स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको पौडेलको भनाइ छ।

यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन्। ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ १७७ वटा पोल थपिएको छ भने बत्ती जडान गर्न ३० हजार ७१० मिटर तार प्रयोग भएको छ।

स्मार्ट लाइट जडान गर्न वा सोलार प्यानललाई पुनः प्रयोगमा ल्याउन नसकिने ४२१ वटा हटाइएको छ। यी प्यानल महानगरपालिका, विद्युत प्राधिकरण र निजी क्षेत्रले पोल गाडेर राखेका थिए।

यी सडकमा स्मार्ट स्ट्रिट लाइट जडान हुने

लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म र चावहिलदेखि जोरपाटीसम्मका सडकमा स्मार्ट स्ट्रिट लाइट जोडिने छ। यी सडकमा काठमाडौं महानगरपालिकाको लगानीमा हुने छ।

यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन्। यो रुटमा बत्ती जडानको काम तत्काल सुरु हुने प्रक्रियामा रहेको नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्धक प्रमोद रिजाल बताउँछन्।

‘हामीले काम गर्ने सडक खण्डमा यसअघि सौर्यबत्तीका लागि गाडिएका पोल छन्। ती पोलहरुको पुनः प्रयोग योजना स्वीकृति हुने चरणमा छ। योजना स्वीकृत भएपछि काम थालिनेछ,’ रिजालले भने। यी खण्डमा १ हजार १७ वटा सडक बत्ती राख्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको उनले बताए।

यस्तै ९२ वटा नयाँ पोल राख्नुपर्ने, २१ हजार ९७० मिटर तार आवश्यक पर्ने अनुमान गरिएको छ।

महानगरले व्यहोर्ने विद्युत् महसुल र मर्मत सम्भार

२०८० बैशाख २५ गते भएको सम्झौताअनुसार सूर्योदय ऊर्जा/अर्घाखाँची जेभीले २०८१ बैशाख २४ गतेभित्र स्मार्ट स्ट्रिट लाइट जडान कार्य सम्पन्न गर्नुपर्नेछ।

‘५० प्रतिशत काम सकिइसक्यो, अहिलेको कामको प्रगति हेर्दा सम्झौता अवधिभित्रै सबै काम सम्पन्न हुने देखिन्छ,’ महानगरपालिका एक इन्जिनियरले भने।

जडानको काम सम्पन्न भइसकेपछि सबै बत्तीहरुलाई एउटै प्रणालीमा आबद्ध गरिनेछ। त्यसपछि महानगरपालिकाको कन्ट्रोल रुमको एउटै कम्प्युटरबाट बत्तीहरुलाई निभाउने–बाल्ने र आवश्यकताका आधारमा चम्किलो–मधुरो बनाउन सकिन्छ।

यसरी बत्ती जडान भएपछि जगेडा रहेमा आ–आफ्नो स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, व्याट्रीलगायत सामानको आफैंले पुनः प्रयोग वा व्यवस्थापन गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

प्राधिकरणले बत्ती जडान गरिसकेपछि सञ्चालन व्यवस्थापनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्नेछ। यसपछिको मर्मत सम्भार महानगरपालिकाले गर्नेछ। सडक बत्ती प्रयोग भए वापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily