काठमाडौं- हिमालयन रिइन्योरेन्सले लगत्तै हकप्रद (राइट शेयर) पनि जारी गर्ने भएको छ ।
नेपाल बिमा प्राधिकरणको निर्देशन पुनर्बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्याउने निर्णय भएसँगै कम्पनीले थप पुँजी वृद्धिका लागि राइट शेयर जारी गर्ने भएको हो ।
हाल हिमालयन रिइन्योरेन्सको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले यस चुक्ता पुँजीको १०:८ अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत राइट सेयर जारी गर्ने भएको हो ।
यसो गर्दा कम्पनीले निकट भविष्यमा नै ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको राइट सेयर जारी गर्नेछ । उक्त प्रस्ताव कम्पनीको आगामी तेस्रो वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात् राइट सेयर निष्कासन गरिनेछ ।
नेपाल बिमा प्राधिकरणले २०८० माघ १७ गते बैठक बस्दै पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी २० अर्ब पुराउनुपर्ने निर्देशन गरेको थियो । योसँगै पुनर्बीमा कम्पनीहरूमाथि चुक्ता वृद्धिको दबाब परेको हो ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन रिइन्स्योरेन्सले माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षको नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
यसो गर्दा कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ थपिनेछ ।
थप राइट सेयरबाट ८ अर्ब ३२ करोड रुपैयाँ थपिएसँगै कम्पनीको कुल चुक्ता पुँजी १९ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया