काठमाडौं– क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्याए ।
अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।
क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।
बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।
नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।
प्रतिक्रिया