काठमाडौं– नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बिचको विद्युत् बिक्री वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।
आगामी वर्षमायाबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबिच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्याङ्कन समितिबिच बिहीबार बंगलादेशको ढाकामा वार्ता भएको थियो ।
विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरूका विस्तृत रूपमा छलफल भएको र यसलाई अन्तिम रूप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेस गरेका थियौँ, हामीले पेस गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरूमा विस्तृत रूपमा छलफल गर्यौँ’, घिसिङले भने, ‘उहाँहरूले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षमायाबाटै नेपालबाट विद्युत् खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’
प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षमायाका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ ।
विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ ।
नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुनेछ ।
प्रतिक्रिया