काठमाडौं- काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चक्रपथ विस्तार नहुँदा पूरै काठमाडौं धुवाँ धुलोले भरिएको बताएका छन्।
१२ वर्षअघि काठमाडौं चक्रपथको कलंकीदेखि महाराजगन्जसम्म विस्तारको सम्झौता भए पनि अझै काम गर्न नसकेको बताएका हुन्।
सामाजिक सञ्जालमा मेयर शाहले सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिनाभित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिनाभित्र निर्माणका लागि सबै पूर्वतयारीको काम सकाउने र तेस्रो महिनाबाट काम थाल्ने समझदारी कहाँ पुग्ने भनी प्रश्न गरेका छन्।
‘हामी नेपालीले चीनले २४ घण्टामा ठूला ठूला भौतिक संरचना निर्माण गर्छ भन्ने समाचार कसरी पत्याउनु’ उनी लेख्छन्,‘संघीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो छ। नेपालका दूर दराजको विकास पद्धतिले फड्को मार्छ, भनेर कसरी विश्वाश गर्नु।’
सहरी व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको आयोजना कहिले सुरु हुन्छ भन्नेमा अनविज्ञ रहेको बताएका छन्।
काठमाडौँका सडकलाई धुँवा धुलोमुक्त बनाउन सडक बढार्ने, टिपनटापन गर्ने, ब्रुमर लगाउने र पानीले पखाल्ने गरेका बताउँदै सडकको सफाइमा अपेक्षित सफाइ प्राप्त गर्न नसकेको प्रमुख कारण चक्रपथ सुधार आयोजनाको वर्षौसम्म नसकिन रहेको उल्लेख गरेका छन्।
चक्रपथबाट सहर प्रवेश गर्ने सवारी साधनले चक्रपथको धुलो सहरका कुनाकुना सम्म पुर्याउने गरेका छन् । यसकारण नियमित प्रयत्न गरे पनि भित्री सहरी क्षेत्रको सडक अव्यवस्थित र फोहोर देखिने गरेको दाबी गरेका छन्।
चीनकै अनुदानमा १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । पछिल्लो सम्झौता अनुसार दुई तर्फी ४ लेन सडक, सर्भिस रोड, साइकल लेन, फुटपाथ सहितको सडक र बस बिसौनी, पार्किङ लट लगायतका पूर्वाधार निर्माण सम्बन्धी बुँदा छन् ।
पुराना पुल तथा सर्भिस रोडहरूमा नयाँ पुल साथै ‘अन्डर पास’ र ३ वटा ‘ओभर हेड पास’ बनाउने गरी भएको सहमति अहिलेसम्ममा प्रगति के भएको छ ?
शाहले निर्वाचित भएर आइसकेपछि चक्रपथ सुधारका लागि हामीले २२ स्थानका संरचना हटाएर साइट क्लियर गरेको बताएका छन्।
समयमा नै काम सुरु नहुँदा एकातिर विकास योजनाको भविष्य अनिश्चित भएको छ भने अर्कोतिर भत्किएका सडक बर्सातको समयमा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेका छन् ।
चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको बताउँदै आए पनि भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले साइट क्लियरेन्स भएपनि चीनले काम शुरु नगरेको दाबी गरेको छ।
‘चिनियाँ कम्पनीले अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन बुझाएको छैन बनाउँदै छौँ भनिरहेको छ’, मन्त्रालयका एक सहसचिवले भने,‘अनुदानमा बन्ने भएको आयोजनामा चीनलाई धेरै केही भन्न सक्दैनौं।’
https://www.facebook.com/story.php?story_fbid=972201670938755&id=100044467927963
प्रतिक्रिया