काठमाडौं- एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ।
नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुनसंग शिष्टाचार भेट गर्दै नेपाल उच्च प्राथमिकतामा रहेको बताएको हो।
भेटमा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए।
जवाफमा एआईआईबी निर्देशक आरएमपी रथनायके नेतृत्वको टोलीले नेपाल एआईआईबीको उच्च प्राथमिकतामा रहेको बताएको हो।
निर्देशक रथनायकेले नेपालको नीतिगत सुधार तथा विकास प्रयास सराहनीय रहेको उल्लेख गरे। उनले नेपाललाई एआईआईबीले प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा उपलब्धताका आधारमा नेपालमा लगानी बढाउँदै लैजाने नीति लिइएको जानकारी गराए।
५० प्रतिशत पुँजी निजी क्षेत्रको साझेदारीमा परिचालन गर्ने एआईआईबीको नीतिअनुसार नेपालको निजी क्षेत्रसँगको साझेदारीमा काम गर्न मन्त्री पुनले आग्रह गरेका थिए। यसका लागि धन्यवाद दिँदै निर्देशक रथनायेकेले बहुवर्षीय आयोजना छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्न सकिने बताए।
मन्त्री पुनले आगामी वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्ता दिए। रथनायेकेले सम्मेलनमा उच्चस्तरबाट सहभागिता जनाइने जानकारी दिए।
मन्त्री पुनले नेपालसहित मध्यम आर्थिक अवस्था भएका विकासोन्मुख मुलुकका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न टोलीसँग आग्रह गरेका छन्।
एआईआईबीको ब्याजदर तुलनात्मक रूपमा महँगो भएकाले नेपालले अपेक्षाअनुसार ऋण लिन नसकेको मन्त्री पुनले बताए।
नेपालमा पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी रहेकाले सहुलियतपूर्ण ऋण जरुरी भएको मन्त्री पुनले बताए।
सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै अर्थमन्त्री पुनले आन्तरिक स्रोतको सीमितताका कारण बाह्य स्रोत जुटाउन आवश्यक रहेको धारणा राखे।
मन्त्री पुनले पूर्वाधार विकाससहित जलविद्युत्, पर्यटन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्न एआईआईबी टोलीलाई आग्रह गरे। जलविद्युत्का लागि क्षेत्रीय बजारको सुनिश्चितता भएकाले सो क्षेत्र लगानीका लागि आकर्षक रहेको पुनले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको जानकारी दिँदै उनले बजारको समस्या नरहेको बताए।
यस्तै बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौता भएको र ४० मेगावाट बिजुली छिट्टै बंगलादेश निर्यात गर्न लागिएको जानकारी पनि मन्त्री पुनले गराए।
आगामी सन् २०२६ मा नेपालले सहस्राब्दी विकास लक्ष्य हासिल गर्नैपर्ने बताउँदै मन्त्री पुनले उक्त लक्ष्य छुन नेपालमा लगानी विविधीकरण गर्न आग्रह गरे।
यस्तै नेपालले विकास आयोजनामा जलवायु वित्तको परिचालन गर्ने सोच बनाइएकाले त्यसका लागि समेत सहयोग गर्न मन्त्री पुनले एआईआईबीलाई अनुरोध गरे।
देशभित्र र बाहिरका समेत निजी क्षेत्रलाई लगानीका लागि थप विश्वासको वातावरण निर्माण गर्न विद्यमान कानुनमा सुधार गर्दै लाने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए।
एआईआईबीको दक्षिण कोरियाली कम्पनी प्रमुख लगानीकर्ता रहेको २ सय १६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ४० मिलियन अमेरिकी डलर बराबरको लगानी छ।
यस्तै लुम्बिनी र कर्णाली प्रदेशमा निर्माणाधीन केही विद्युत् प्रसारण लाइनमा पनि एआईआईबीले लगानी गरेको छ।
प्रतिक्रिया